डाेटी : असिनाले तरकारी बालीमा क्षति

 पुस २३, २०७७ बिहिबार १७:१५:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीका विभिन्न क्षेत्रमा परेको असिनाले तरकारी बालीमा क्षति पुर्‍याएकाे छ । डोटीका आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिका विभिन्न वडामा मङ्गलबार र बुधबार परेको असिनाका कारण फुलेर कोसा लाग्ने अवस्थामा रहेका तोरी तथा तरकारीमा क्षति पुगेकाे छ ।  

असिनाले गरेको क्षतिका बारेमा विवरण सङ्कलन गरिदिन सम्बन्धित निकायलाई आग्रह गरिएको केआईसिंह गाउँपालिकाका किसान शेरबहादुर ऐरले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्षाले बाली त सप्रिने आशा थियो तर असिनाले तरकारी र तोरी खेतीमा क्षति पुर्‍याएकाे छ, क्षतिको विवरण सङ्कलन गर्न माग गरेका छौँ ।’

मौसममा आएको बदलीका कारण मङ्गलबार र बुधबार डोटीलगायत अन्य पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातसँगै असिना परेको थियो । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै कम्तीमा एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लले उच्च लेकाली भेग र खप्तडमा हल्का हिमपात भएको र क्षतिको विवरण नआइसकेको बताउनुभयो । 

बुधबारसम्म असिना र उच्च लेकाली क्षेत्रमा हल्का हिउँ परे पनि बिहीबारदेखि डोटीसहित पहाडी जिल्लामा घाम लाग्नुका साथै मौसममा सुधार भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको सञ्चार शाखाले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया