लामो समयपछि खुलेका निजी विद्यालय सञ्चालन गर्न मुश्किल

 माघ ९, २०७७ शुक्रबार ९:११:३५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौका रबिन बस्नेत, काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ मा रहेको ज्ञानमन्दिर इङ्ग्लिस सेकेण्डरी स्कुलका सञ्चालक हुनुहुन्छ ।

१२ कक्षासम्म पढाइ हुने यो स्कुलमा शिक्षक कर्मचारी गरी ४९ जना छन् । अघिल्लो शैक्षिक सत्रमा ६ सय ५० जना विद्यार्थी अध्ययनरत थिए । 

कोरोना भाइरस सङ्क्रमणका कारण कतिपय निजी स्कुलले आफ्ना स्कुलका कर्मचारी तथा शिक्षकलाई जागिरबाट निकालेको, तलब नदिएको भन्ने खबरहरु आए । तर उहाँ आफ्नो स्कुलले एक जना पनि शिक्षक तथा कर्मचारी जागिरबाट ननिकालेको दाबी गर्नुहुन्छ ।

उहाँले भन्नुहुन्छ ‘मैले कसैलाई पनि जागिरबाट निकालेको छैन । यस्तो अवस्थामा निकाल्ने कुरा पनि भएन । बरु जति स्रोत साधनले भ्यायो बाँडीचुँडी लियौँ ।’ 

गएको माघ ४ गतेदेखि स्कुल सञ्चालनमा आएको छ । स्कुल सञ्चालनमा आए पनि पहिलाको अवस्थामा फर्कन गाह्रो छ । स्कुल भाडाको घरमा सञ्चालनमा छ ।

अनलाइनमार्फत् लामो समय पढाइ सञ्चालन गर्दा विद्यार्थीहरुबाट निक्कै कम शुल्क लिएकाले अहिले समस्या भएको उहाँको भनाइ छ ।  ‘शुल्क उठाउन नसकेपछि समस्या त हुने नै भयो नि’ उहाँले भन्नुभयो ।  

अहिले विद्यार्थी भर्ना हुने क्रम चलिरहेको छ । तर स्कुल पूर्ण रुपमा उकासिनका लागि लामै समय लाग्न सक्छ ।  सरकारले सहुलियत दरमा ऋणको व्यवस्था गरिदिएमा स्कुल सञ्चालनमा सहज हुन्थ्यो भन्ने उहाँलाई लागेको छ । 

रबिन जस्तै धेरै विद्यालय सञ्चालक अहिले समस्यामा परेका छन् । कोरोनाका कारण लामो समय स्कुल बन्द हुँदा पुरानै अवस्थामा फर्काउन गाह्रो भइरहेको उनीहरुको भनाइ छ ।

पाँच प्रतिशतभन्दा धेरै निजी स्कुल कोरोना भाइरस सङ्क्रमणका कारण बन्द भएका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी बताउनुहुन्छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण आर्थिक अवस्था कमजोर भएको तथा विभिन्न कारणले गर्दा ५ प्रतिशत स्कुल बन्द भएका हुन् ।  

कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर झण्डै एक हजार विद्यालय बन्द हुने जोखिममा छन् । कतिपय स्कुलहरु सञ्चालनका लागि गाह्रो भएकाले मर्ज गर्नुपर्ने अवस्थामा पुगेका छन् ।  

निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आँकलन छ । १० महिनादेखि विद्यालय बन्द भएको, भाडा तिर्नु पर्दा खर्च व्यहोर्न नसकेका कारण विद्यालय बन्द हुने अवस्था देखिएको हो । 

गएको माघ ४ गतेदेखि धमाधम स्कुल खुल्न थालेका छन् । यो महिनाको अन्तिमसम्ममा मात्र कति विद्यालय बन्द भए भन्ने यकिन तथ्याङ्क आउने पुरीले बताउनुभयो । अहिले प्याब्सनले  पनि यकिन तथ्याङ्क संकलनको काम भइरहेको जनाएको छ । 

निजी विद्यालयका सञ्चालकहरूका अनुसार विद्यालय बन्द हुने समस्या काठमाण्डौ उपत्यकामा धेरै छन् ।

काठमाण्डौ उपत्यकाभन्दा बाहिरका कतिपय स्कुल कोरोनाको समयमै पनि सञ्चालन भए । तर काठमाण्डौ उपत्यकामा १० महिनाभन्दा धेरै समय विद्यालय बन्द भए ।  

सरकारले निजी विद्यालयलाई कोरोनाको मध्यम प्रभावित क्षेत्रको सूचीमा राखेको छ । पुरी भन्नुहुन्छ 'सरकारले अतिप्रभावित क्षेत्रमा राखेर सहुलियत दरमा ऋण उपलब्ध गराइदिने व्यवस्था भएमा केही हदसम्म राहत हुन्थ्यो ।'

अन्तिम अपडेट: बैशाख ३, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया