पुनर्निर्माण प्रक्रिया नबुझ्दा सेवाग्राही अलमलमा

 माघ ९, २०७७ शुक्रबार १६:४२:१३ | जानुका दुवाडी
unn.prixa.net

ललितपुर – ललितपुरको महाङ्काल गाउँपालिका ६ की तिलकुमारी तिमल्सेनालाई भूकम्पले ढलेको आफ्नो घर बन्ने प्रक्रिया अगाडि बढ्ला भन्ने विश्वास नै थिएन । वरिपरि बनेका र बन्दै गरेका अरूका घरका अगाडि लडेको आफ्नो घर देख्दा उहाँको मुटु कटक्क खान्थ्यो । 

गएको मङ्सिर १२ गते घर निर्माणका लागि सम्झौता भएपछि तिलकुमारीको मुहारमा खुसी छायो । २०७२ सालको भूकम्पमा घर भत्किए पनि उहाँले विभिन्न कारणले गर्दा नयाँ घर निर्माणका लागि सम्झौता प्रक्रिया अगाडि बढाउन पाउनुभएको थिएन । घर पूर्णरूपमा क्षति भएको थियो । 

मापदण्डअनुसार घर बनाउनका लागि जग्गा अभाव थियो । पहिला बस्दै आएको घर कान्छो छोराको नाममा थियो । कान्छो छोराले आफू बस्दै आएको घर भएको जग्गा बेचिदिएपछि उहाँलाई नयाँ घर निर्माणका लागि सम्झौता गर्न समस्या भयो । 

चार छोराको भूकम्प अगाडि नै अंशवण्डा भइसकेको थियो । आफू पहिले पनि एक्लै बस्दै आएकाले नयाँ घर निर्माण गरेर बाँचुञ्जेल एक्लै बस्ने तिलमायाको इच्छा थियो । तर घर बनाउन जमिन नहुँदा उहाँको इच्छा इच्छामा मात्रै सीमित थियो । तिलमायाले नयाँ घर बनाउने आशा मारिसक्नुभएको थियो । 

घर भत्किएपछि उहाँ जेठो छोरासँग बस्दै आउनुभएको छ । आमाको इच्छा थाहा भएपछि कान्छा छोराले चार आना जग्गा आमाको नाममा पास गरिदिने बताउनुभयो । तिलमाया भन्नुहुन्छ, ‘घर बनाउन जग्गा त भयो तर सम्झौता गर्ने समय सकियो भनेर म त चुपचाप बसेको थिएँ । जग्गाले मात्रै घर बन्ने कुरा भएन, पैसा नहुने भएपछि घर बन्ने आशा मार्नुको विकल्प थिएन ।’ 

गएको मङ्सिर १० गते ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र वडा नम्बर ६ कार्यालयको सहयोगमा भएको कार्यक्रमपछि भने उहाँलाई अब चाहिँ घर बन्छ कि भन्ने लाग्यो । कार्यक्रमपछि उहाँले नयाँ घर निर्माणका लागि समय अझै बाँकी भएकोबारे थाहा पाउनुभयो ।  

सबै कुरा थाहा पाएपछि चार आना जग्गा कान्छो छोराबाट मञ्जुरीनामा लिनुभयो र घर निर्माणको काम थाल्नुभएको छ । घर बनाउन थालेसँगै वडा कार्यालयले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ दिने जनाएको उहाँ बताउनुहुन्छ । तिलमाया भन्नुहुन्छ, ‘अब त जसरी पनि घर बनाएरै छोड्छु  ।’ 

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र वडा कार्यालयको कार्यक्रमपछि तिलकुमारी जस्तै बलब केसीले पनि नयाँ घर निर्माणका लागि सम्झौता गर्नुभएको छ । 

केसीको पनि २०७२ सालमा भूकम्पले घर भत्किएको थियो । त्यसपछि उहाँले एक पटक घर बनाउनका लागि सम्झौता गर्ने सोच बनाउनुभयो । तर त्यही बेला गाउँमा सबैले घर बनाउँदै गरेकाले तत्कालै मिस्त्री नपाइने र घर पूरै क्षति भएकाले बस्ने ठाउँ पनि नभएको कारण उहाँ काठमाण्डौ छिर्नुभयो । ललितपुरको धापाखेलमा रहेको दाइको घरमा बस्न थाल्नुभयो । उहाँ कफी उत्पादन गर्ने एउटा एनजीओमा पनि काम गर्नुहुन्छ । कफीकै काममा लामो समय व्यस्त हुनुभएकाले घर बनाउनेतर्फ उहाँको ध्यान पुग्न सकेन । उहाँले पनि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि नयाँ घर निर्माणबारे धेरै जानकारी पाउनुभयो । 

घर बनाउन अझै समय भएको थाहा पाएपछि उहाँले सम्झौता गर्नुभएको छ । पुनर्निर्माणको काम धेरै सकिइसकेकाले अब मिस्त्री नपाउने समस्या पनि नरहेकाे उहाँको भनाइ छ । गाउँमा खेतबारी बाँझै छन् । नयाँ घर बनाएपछि गाउँमै गएर कफी उत्पादन गर्ने उहाँको योजना छ । उहाँ भन्नुहुन्छ, ‘मेरो गाउँमा कफीको निक्कै राम्रो उत्पादन हुन्छ । अब त्यतैतिर लाग्ने विचार छ ।’ सम्झौता गरेपछि उहाँले घर बनाउनका लागि आवश्यक सबै तयारी पूरा गरिसक्नुभएको छ । ‘अब घर निर्माण भएपछि नयाँ घरमा बस्छु, कफी खेती गर्छु । मेरो गाउँको माटो कफी उत्पादनका लागि निक्कै राम्रो छ’, बलब थप्नुहुन्छ ।  

तिलकुमारी र बलब केसीसँगै पाँच जनाले गएको मङ्सिर ११ गतेपछि घर बनाउनका लागि अनुदान सम्झौता गर्नुभएको छ । महाङ्काल गाउँपालिका ६ ठूला दुर्लुङमा इन्टरनेशनल र वडा कार्यालयले गरेका सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएका ४० मध्ये थप पाँच जनाले नयाँ सम्झौता गरेका हुन् । ठूलो दुर्लुङमा अहिलेसम्म चार सय ३२ जनाले निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरिसकेका वडा नम्बर ६ का वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिनुभयो । जसमध्ये पाँच जनाले भने पुस ११ पछि सम्झौता गरेका हुन् । अहिलेसम्म सम्झौता गरेकामध्ये चार सय १६ जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिइसकेका छन् । दुई सय १८ जनाले घर पुनर्निर्माणको काम सम्पन्न गरिसकेका छन् । एक सय ८५ जनाले दोस्रो किस्ताबापतको रकम लिएका पनि आचार्यले बताउनुभयो ।  

सरकारले नयाँ घर बनाउनका लागि असार मसान्तसम्मको समयसीमा तोकेको छ । 

प्रक्रियाबारे नबुझ्दा धेरै अन्योलमा

सरकार र पुनर्निर्माण प्राधिकरणले सबै भूकम्प पीडितले सहजै सेवा लिएको दाबी गरे पनि धेरै जनामा सम्झौतालगायतका कागजी प्रक्रिया नबुझेरै अन्योल भएको पाइएको छ । प्रक्रिया बुझ्ने र पढेलेखेकाहरूले सहजै घर पुनर्निर्माण गरे पनि दूरदराजका र प्रक्रियाबारे थाहा नभएकाहरूको यता र उता भौतारिँदै समय बित्ने गरेको छ । प्राविधिक कारण र कागजी प्रक्रिया समयमै पूरा गर्न नसकेकाहरूले अब सम्झौताको समय सकियो भनेर पुनर्निर्माणका लागि आवेदन नै नदिने गरेको पाइएको छ ।

घर पुनर्निर्माण गर्न नसकेका तर पुनर्निर्माणको मापदण्डभित्र रहेका नागरिकहरूको पुनः तथ्याङ्क सङ्कलन गरी आवश्यक सहजीकरण गर्न स्थानीय सरकार, पुनर्निर्माण प्राधिकरणलगायत सम्बद्ध पक्षको ध्यान जानु आवश्यक देखिन्छ ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया