विदेश जान इलामबाट यो आर्थिक वर्षमा मात्रै ४ हजारभन्दा धेरैले बनाए पासपोर्ट

 फागुन ६, २०७७ बिहिबार १६:३६:५७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा चार हजार बढीले पासपोर्ट बनाएका छन् । आर्थिक वर्ष २०७६/०७७ को सुरुवातदेखि अहिलेसम्ममा इलाममा मात्रै ४ हजार ८ सय ६२ जनाले पासपोर्ट बनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय इलामबाट अघिल्लो र यो वर्षमा ३ हजार ९ सय ३८ जनाले सामान्य तरिकाले पासपोर्ट बनाएका छन् भने ९ सय २४ जनाले द्रुत सेवा (फास्ट ट्र्याक) बाट पासपोर्ट बनाएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी देवी चरण फुयाँलले जानकारी दिनुभयो । 

द्रुत सेवा लिनेमा महिला बढी 

जिल्लाबाट बनाइएका पासपोर्टमा द्रुत सेवाको सुविधा लिनेमा महिलाको सङ्ख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  चालु आर्थिक वर्षमा मात्रै अहिलेसम्म द्रुत सेवाबाट पासपोर्ट लिनेको सङ्ख्या २०४ जना रहेको कार्यालयले जनाएको छ ।

जसमा एक सय २७ जना महिला रहेका छन् भने ७७ जना पुरुष रहेका छन् । तथ्याङ्कको आधारमा पुरुषभन्दा महिला ५० ले बढी छन् । आर्थिक अभावका कारण फ्री भिसा फ्री टिकट मै विदेश जाऊँ न भन्ने महिलाको सङ्ख्या बढ्दै गएको सुरक्षित आप्रवासन परियोजना सामीको आप्रवासी स्रोत केन्द्र इलाम नगरपालिकाका परामर्शकर्ता कल्पना थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘म जाऊ पैसा धेरै लाग्छ, श्रीमानले तिमी नै जाऊ न भन्नुभयो, त्यसैले मै विदेश जान आँटेको भनेर पासपोर्ट बनाउन आउने महिलाले भन्नुहुन्छ, यस्ता सोचाइले महिलामा काम र सुरक्षाको जोखिम भने बढाउने देखिन्छ ।’  

द्रुत सेवाबाट एक दिनमा नै राहदानी बन्छ । तर शुल्क भने महँगो छ ।  द्रुत सेवामा एक दिनका लागि १५ हजार, दुईका लागि १२ हजार र तीन दिनमा बनाउँदा १० हजार रुपैयाँ शुल्क लाग्छ । 

उहाँका अनुसार, जिल्लाबाट बनाउँदा पाँच हजार शुल्क लाग्छ । तर समय भने ३० देखि ४५ दिनसम्म लाग्ने गरेको छ । 

जिल्ला र द्रुत सेवा गरी इलामका एक हजार ३६४ जनाले लकडाउन खुलेपछि पासपोर्ट बनाएको प्रशासन कार्यालयको तथ्याङ्क छ । कामको सिलसिलामा इलामबाट खाडीका देश कतार, यूएर्ई, मलेसिया र कोरिया जस्ता देशहरू जाने गरेका छन् । मलेसिया जान खोज्नेको सङ्ख्या धेरै छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया