एक महिना बित्न लाग्दा पनि सार्वजनिक भएन प्रहरीले बरामद गरेको सुन र रकम

 फागुन ७, २०७७ शुक्रबार २०:१८:४१ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा गएको माघको १४ गते प्रहरीले बरामद गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन । एक किलो एक सय ग्राम सुन बरामद गरेको एक महिना बित्नै लाग्दासमेत सार्वजनिक नभएको भन्दै स्थानीय असन्तुष्ट बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी टोलीले स्रोत नखुलेको एक किलो एक सय ग्राम सुनसहित १७ लाख ४७ हजार रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको थियो । सिलगढीका भरत नेपालीले भन्नुभयो, ‘सुन र रकम बरामद गरेको महिनौँ हुन लाग्योे, अहिलेसम्म केही सार्वजनिक नहुँदा प्रहरीको नियतमा शङ्का उत्पन्न भएको छ ।’

प्रहरीले भने सुन र रकमसँगै पक्राउ गरेका व्यक्तिलाई हाजिर जमानीमा छोडेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक (सई) धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट केआईसिंह गाउँपालिका ६ भिताणीकी ६० वर्षीया काली र उनकी भतिजलाई पक्राउ गरेको थियो । प्रहरीले दुवै जनालाई एक दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर दोस्रो दिन बयानपछि छोडिएको थियो । 

प्रहरीका अनुसार यस प्रकरणमा जोडिएका अन्य व्यक्ति अझै फरार छन् । पक्राउ परेकी महिलाले डोटीकै सुन पसलमा सुन बिक्री गरेर नगद लिएको भन्नेसमेत खुलेको छ । जिल्लाको प्रहरी नेतृत्वसमेत परिवर्तन भएको तर सुनका विषयमा प्रहरीले चासो नदेखाएको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘प्रहरीले सुन र संलग्न अन्य व्यक्तिलाई खोजि रहेको छ, थप पक्राउ परेका छैनन् तर अनुसन्धान भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वार्टर​मार्फत आफूहरुलाई सूचना आएपछि सुन र नगद बरामद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हेडक्वार्टरमार्फत पक्राउका लागि खबर आएपछि हामीले पक्राउ गरेका हौँ, अन्य केही खबर आएको छैन, केन्द्रमा अनुसन्धान भइरहेको होला ?’ उहाँका अनुसार प्रहरीले बरामद गरिएको सुनको मुचुल्का बनाएर यस विषयमा हेडक्वार्टर​मार्फत भारतीय दूतावासमा जानकारी गराइसकेको छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया