सेती जलाशययुक्त आयोजनाले डोटी र अछामका आठ सय ८४ घरधुरीमा असर पर्ने

 फागुन २१, २०७७ शुक्रबार १४:४९:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गर्न लागिएको सेती जलाशययुक्त आयोजनाले डोटी र अछामका गरी कम्तीमा आठ सय ८४ घरधुरीमा असर पर्ने बताइएको छ । 

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालय, विद्युत् विकास विभागले बोगटान फुड्सिल गाउँपालिकामा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा यसबारे जानकारी दिइएको हो । यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेती आयोजनाबाट यति ठूलो सङ्ख्यामा घरधुरीलाई असर पर्ने जानकारी दिइएको हो ।

कुल तीन सय आठ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको आयोजना सम्पन्न गर्न ९१ अर्ब रुपैयाँ लाग्ने भएको छ । आयोजनाबाट सबैभन्दा बढी डोटीकोे बोगटान फुड्सिल गाउँपालिकामा क्षति हुने वातावरण परामर्शदाता डाक्टर ज्योतिप्रसाद गजुरेलले जानकारी दिनुभयो । 

आयोजनाका लागि वन क्षेत्र १०४०.९ हेक्टर, निजी जमिन १८७३.५ हेक्टर (३६ हजार ८२६.४९ रोपनी ), १४६६.१२४ हेक्टर सरकारी जमिन प्रयोग हुने जानकारी दिइएको छ । आयोजनाले कम्तीमा एक लाख १४ हजार ६ सय दुई प्रजातिका बोटबिरुवा प्रभावित हुने वातावरण परामर्शदाता डाक्टर ज्योतिप्रसाद गजुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयोजना निर्माण भए केही क्षति हुने देखिएको छ, काम सम्पन्न भए विद्युत् क्षेत्रमा पनि उल्लेख्य उपलब्धि हुने छ ।’

उहाँका अनुसार आयोजनाबाट कम लगानीमा बढी फाइदा हुने छ । यस आयोजनाले समग्र सुदूरपश्चिम प्रदेश र केन्द्रलाई नै फाइदा हुने गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकास गर्दा केही न केही विनाश अवश्य हुन्छ, राम्रो कामका लागि केही क्षति भए पनि सहनुपर्छ, यहाँका विकासका योजनामा हाम्रो पूर्ण सहयोग रहने छ ।’  

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया