दुर्गाप्रसादकी आमालाई लाग्थ्यो, छोराले 'जेल' भन्ने ठाउँमा काम गर्दै कमाइरहेको छ

 चैत ८, २०७७ आइतबार १९:१५:२ | सुजता सुनुवार
unn.prixa.net

दुर्गाप्रसादकी आमा धनमाया

इलाम – इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दीपक) जन्मघर आइपुग्दा परिवारमा खुसी छाएको छ । विना सुनुवाइ ४० वर्षसम्म जेलमा कैदी जीवन बिताउनुभएका उहाँसँग आइतबार पारिवारिक मिलन हुँदा सबैमा खुसी छाएको हो । 

विश्व सेवा विस्तार संस्था काँकडभिट्टाबाट १२ः३० बढे हिँड्नुभएका उहाँले झण्डै ३ः१० मा जन्मघरको आँगन टेक्नुभएको थियो । ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा जेलको कष्टकर बसाइबाट छुटकारा पाउनुभएका उहाँले आफ्नी आमासँग भेटघाट गर्नुभयो तर मौन बस्नुभयो । 

‘आउनुहुन्छ भन्ने लागेको थियो यत्तिका वर्षपछि भेट्न पाउँदा कत्ति हो कत्ति खुसी लागेको छ । त्यो खुसी व्यक्त नै गर्न सक्दैनौँ’, भतिजा गोपाल तिम्सिना भन्नुहुन्छ । 

छोरोसँगको भेटपछि खुसी हुदै आमाले आशाको भावमा भन्नुभयो, ‘यसको ज्यानमा फोक्से मासु लागेछ, कमाउन गएको कमाइ त भो होला यसको ?’ आमा बोल्नुभयो तर दुर्गाप्रसाद केही बोल्नुभएन । नबोलेपछि ‘बोल्दैन बिरामी पो छ कि के हो ?’ थप प्रश्न गर्दै उहाँले छोरोप्रति जिज्ञासा राख्नुभयो । 

आमा धनमायालाई जेल भनेको सजाय दिने ठाउँ हो भन्नेसम्म थाहा छैन । छोरो जेल भन्ने ठाउँमा काम गर्दै कमाइरहेको छ भन्ने लागेको छ उहाँलाई । कमाउन जान्छु भनेर हिँडेको छोरो बल्ल फर्किएको छ । धेरैतिर खोज्दा पनि कतै पत्ता नलागेपछि छोरो सम्पर्कविहीन भए पनि कमाइ गरिरहेको छ भन्ने आशामा हुनुहुन्थ्यो । 

‘कमाउन गएको किन कमाउँदैन र ? यत्तिका वर्षमा कमायो होला । जग्गा किन्ला अब गरेर खाला नि’, छाेराे नबाेले पनि आमाले मनभरिको आशा व्यक्त गर्नुभयो ।

दुर्गाप्रसाद घर त आउनुभयो तर उहाँ भने केही थाहा नभएको जस्तै देखिनुहुन्छ । आमालाई भेट्दा उहाँमा न खुसी देखियो न दुःख नै । 

तिम्सिना शनिवार जेलमुक्त भएसँगै आइतबार नेपाल फर्किनुभएको हो । उहाँलाई लिन भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत भारत पुग्नुभएको थियो । 

उहाँ सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ पर्नुभएको थियो तर उहाँमाथिको यो आरोप प्रमाणित भएको छैन । उहाँविरुद्ध दार्जिलिङ प्रहरीमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

यस प्रमाणमा दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उहाँविरुद्ध जाहेरी दिएको देखिन्छ । तर भाइ प्रकाशचन्द्र भन्नुहुन्छ, ‘दाइलाई फसाउन फर्जी जाहेरी दिएको हो ।’ दुर्गाप्रसाद भने बोल्दै बोल्नुहुन्न । तर भाइ प्रकाशचन्द्रका अनुसार दाइ दुर्गाप्रसादले छुटेलगत्तै ‘म निर्दोष छु’ भन्ने प्रतिक्रिया दिनुभएको थियो ।

दुर्गाप्रसाद घर आउनुभएको समयमा छिमेकीसमेत भेट्न आएका थिए ।   

अन्तिम अपडेट: चैत २७, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया