जेलबाट छुटेकाे चार दिनपछि दुर्गाप्रसादलाई नागरिकता

 चैत १२, २०७७ बिहिबार १२:५७:४६ | सुजता सुनुवार
unn.prixa.net

इलाम - ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गृह जिल्ला फर्किनुभएका दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । इलामको माई नगरपालिका - १० लुम्बाकका तिम्सिनाले बिहीवार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गर्नुभएको हो ।

उहाँ आफ्ना भतिज गोपाल तिम्सिना, भिनाजु खडानन्द गजुरेल, भाइ धिरेन्द्र शर्मा रमणलगायत जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुभएको थियो । नागरिकताका लागि कार्यालय पुग्नुभएका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गर्नुभएको हो  । 

उहाँलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले टीका लगाउँदै खादा ओढाएर सम्मान पनि गर्नुभएको छ । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख गरिएको छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा खुसी भएको उहाँले प्रतिक्रिया दिनुभयो । 

नागरिकता प्रदान गर्दै अधिकृत फुयाँलले नेपाली नागरिक जुनसुकै उमेर समूहका भए पनि नागरिकता प्राप्तिको प्रक्रिया चालेपछि कार्यालयले नागरिकता प्रदान गर्ने बताउनुभयो । कार्यालयमा तिम्सिना आइपुग्नुभएको २० मिनेटभित्रै नागरिकता प्रदान गरिएको थियो । 

तिम्सिनालाई कोलकाता उच्च अदालतले जेलबाट गएको चैत ४ गते बुधवार रिहाइको आदेश दिएको थियो । आदेशअनुसार उहाँ शनिवार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुट्नुभएको हो । व्यक्ति हत्या अभियोगमा सुनुवाइविना नै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार घर आइपुग्नुभएको थियो  । 

२०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मङ्गलबारे बजार हिँडेको भन्दै घरबाट निस्केपछि बेपत्ता हुनुभएका तिम्सिना कहाँ हुनुहुन्छ भन्ने कसैलाई थाहा पत्तो थिएन । २०१७ सालमा जन्मिनुभएका उहाँ अहिलेसम्मकाे समय जेलमै बसेर बिताउनु भएकाले उहाँको नागरिकता नै बनेको थिएन । 

 ८५ वर्षकी आमा धनमाया भन्नुहुन्छ, ‘दुर्गाप्रसादको धार्मिक परम्पराअनुसार व्रतबन्ध र विवाहसमेत भएको छैन ।' 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया