दुर्गाप्रसादको नाममा बैंक खाता, पालिकाले ५० हजार सहयोग गर्ने

 चैत १३, २०७७ शुक्रबार १८:२८:२७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको माई नगरपालिका १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता लिएसँगै आफ्नो नाममा बैंक खाता खोल्नुभएको छ । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर घर फर्कनुभएका उहाँले नेपाल एसबीआई बैंक लिमिटेड इलाम शाखामा खाता खोल्नुभएको हो । 

नेपाल एसबीआई बैंकका शाखा प्रबन्धकले तिम्सिनालाई चेकबुक हस्तान्तरण गर्नुभयो । पारिवारिक अवस्था देखेर कतिपयले सहयोग गर्ने इच्छा व्यक्त गरेकाले ठूलो बुबाको नाममा बैंक खाता खोलेको उहाँका भतिजो गोपाल तिम्सिनाले बताउनुभयो । गोपाल भन्नुहुन्छ,‘सहयोग गर्न चाहनेले उहाँकै खातामा रकम जम्मा गरिदिए हुन्थ्यो ।’

पालिकाको ५० हजार सहयोग 

माई नगरपालिकाले तिम्सिना परिवारलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बिहीवार घरै पुग्नुभएका पालिका प्रमुख दीपक थेबेले सहयोग रकम ५० हजार उपलब्ध गराउने बताउनुभएको हो । उहाँले दुर्गाप्रसाद र उहाँकी बहिनी पविमायाको उपचार गराउन अस्पतालसम्म लैजाने र घर फर्किँदा लाग्ने खर्चसमेत पालिकाले नै बेहाेर्ने जानकारी दिनुभयो ।

दुर्गाप्रसादको उपचारको जिम्मा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले लिएको छ । 

आमालाई श्रवण यन्त्र

श्रवण शक्ति कमजोर रहेकी दुर्गाप्रसादकी आामा धनमाया तिम्सिनालाई श्रवण यन्त्र प्रदान गरिएको छ । करुणा फाउन्डेशन इलामले धनमायालाई कुराकानी गर्न सहज होस् भन्दै श्रवण यन्त्र उपलब्ध गराएको हो । लामो समय जेल जीवन बिताएर फर्किनुभएका दुर्गाप्रसाद सानो स्वरमा छोटो वाक्य मात्रै बोल्न सक्नुहुन्छ । 

आमा कम मात्रै सुन्ने, छोरो सानो स्वरमा मात्रै बोल्ने भएकाले आमा छोरोको बीचमा राम्रोसँग कुराकानी हुन सकेको थिएन । आमा छोरोको संवादलाई सहज बनाउन आमा धनमायालाई श्रवण यन्त्र प्रदान गरिएको फाउण्डेशनका व्यवस्थापक अजित योञ्जनले बताउनुभयो । 

श्रवण यन्त्र पाएपछि आफूले राम्ररी सुन्न सकेको धनमायाले बताउनुभयो । ‘साइलो (छोरो) ले बोलेकै सुनेको थिइनँ’, धनमायाले भन्नुभयो, ‘अब साइलोसँग बात गर्न सजिलो भयो ।’

क्लिनिकल साइकोलोजिस्ट घरमै 

दुर्गाप्रसाद, उहाँका भाइ धर्मनन्द र बहिनी पविमायाको अवस्था जाँच्नका लागि क्लिनिकल साइकोलोजिस्ट अर्चना पोख्रेलसहितको टोलीले घरैमा पुग्नुभएको छ । करुणा फाउण्डेशनको इटहरीमा रहेकाे कार्यालयबाट टोली तिम्सिना परिवारको घर माई नगरपालिका १० लुम्बक पुगेको हो । 

उहाँको सबैसँग कुराकानी भयो । कुराकानीपछि पोख्रेलले केही दिनअघि मात्रै घर आउनुभएका दुर्गाप्रसादलाई अझै केही समय परिवारसँग बिताउन दिएर मात्रै उपचार थाल्न ठिक हुने सुझाव दिनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया