हाेटल, रिसाेर्ट थपिने क्रम बढेसँगै अन्तुका होमस्टे सङ्कटमा

 चैत १५, २०७७ आइतबार २०:२१:१० | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै अन्तुका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको अन्तु पर्यटक विकास केन्द्र तथा श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले बताउनुभयो । 

उहाँका अनुसार अन्तुमा बाहिरबाट आउने व्यक्तिले करोडौँ खर्चेर रिर्सोट, सुविधा सम्पन्न होटल र आर्कषक कटेज निर्माण गरेर सञ्चालनमा ल्याएकाले अन्तुमा होमस्टेलाई व्यावसायिक बनाउन नै समस्या हुन थालेको छ । 

लकडाउनपछि पनि वडा कार्यलयमा होटल सञ्चालनका लागि अनुमति दर्ता गर्ने क्रम बढिरहेकाे वडा नम्बर ५ की वडासचिव इन्दिरा लामाले बताउनुभयो । यो निरन्तरताले पनि होमस्टे सञ्चालनमा चुनौती थपिएको छ । होटलमा भन्दा होमस्टेमा खाना तथा बासको खर्च कम छ । खानाको गुणस्तर पनि सोचे जस्तै छ । तर घर नयाँ र आकर्षक नदेखिँदा भने पर्यटक होमस्टे रोज्दैनन्, सहर बजारकै महँगाे होटल रुचाउँछन् । 

होमस्टेमा एउटै मूल्यमा खाना खुवाउने र बास बसाउने व्यवस्था मिलाइएको छ । खाना र बासको व्यवस्था न्यून दरमा नै उपलब्ध हुन्छ । होमस्टेका अध्यक्ष आलेका अनुसार एक सय ७० रुपैयाँ प्रति छाक सादा खाना, लोकल कुखुराको मासुसहितलाई तीन सय रुपैयाँ पर्छ । त्यस्तै चार जनासम्म बस्न सक्ने 'एटेच' कोठालाई एक हजार तथा चार जनासम्म बस्ने 'ननएटेच' कोठाका लागि सात सय रुपैयाँ दर राखिएको छ । 

होटलमा भने दुई सय २० रुपैयाँ प्रति छाक सादा खाना, मासुसहितको खानालाई चार सय ५० रुपैयाँ पर्छ । कोठामा भने एक हजार पाँच सयदेखि तीन हजार पाँच सय रुपैयाँसम्म लिन्छन् । हाेटलमा एकरूपता छैन । अन्तु क्षेत्रलाई होमस्टेकै रूपमा विकास गर्न पालिकाले पनि सहयोग गर्न आवश्यक रहेको होमस्टे व्यवसायीको माग छ ।

उनीहरू भन्छन्, ‘होमस्टेले काँकडभिट्टा पर्यटन कार्यालय र स्थानीय वडा कार्यलय दुवैमा दर्ता गरेर दुवैतर्फ कर तिरेका छौँ ।’ गएको माघ महिनामा ५८ घरले वडामा दर्ता गरी एक लाख रुपैयाँ कर मात्रै बुझाएको छ । व्यवसायीले पालिकामा गुनासाे गरेपछि दोहोरो कर लिने हटाइएको होमस्टेका अध्यक्ष आलेले जानकारी दिनुभयो ।  

अन्तुलाई ‘होमस्टे हब’ बनाउने सूर्योदय नगरपालिकाको लक्ष्य छ । यसलाई पूर्णता दिन होमस्टे सञ्चालनमा समेत लोनको व्यवस्था गरिदिन होमस्टे व्यवसायीले पालिकासँग माग गरेका छन् । होमस्टे सञ्चालनमा पालिकाले चासो नलिने हो भने होमस्टे व्यवसायीसमेत होटल व्यवसायी बन्न बाध्य हुने उनीहरू बताउँछन् । अन्तुलाई होमस्टेमय बनाउने भनेर २०६७ सालमा नै सामूहिक रूपमा दर्ता गरेर अगाडि बढेको भए पनि कार्यान्वयन पक्ष फितलो भएको बताइएको छ । 

होटल, कटेज र रिर्सोट आकर्षक हुन्छन् । पर्यटक यसैमा बस्छन् । होमस्टेमय छ अन्तु भनेर सुनेका पर्यटक तिनैलाई होमस्टे मान्छन् र बस्छन् । होटलमा भाडा तिर्छन् अनि होमस्टे महँगाे भयाे भन्दै अन्तु आएका पर्यटक फर्कने गरेका छन् । अध्यक्ष आले गुनासो गर्नुहुन्छ, ‘अन्तुका होमस्टे सबै महँगाे छ । हाम्रो सेवा सर्वसुलभ भए पनि पर्यटकले अन्तु महँगाे भयाे भन्ने गुनासो सुन्दा नरमाइलो लाग्छ ।’

तथ्याङ्कमा फरक 

सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध अन्तुमा होमस्टे र होटल कति छन् ? यसको दर्ता तथ्याङ्क नै फरक पाइएको छ । होमस्टे सञ्चालनार्थ बनेको समिति श्रीअन्तु डाँडा सामुदायिक होमस्टे र वडा कार्यलयमा दर्ता भएका होटल, कटेज, रिसोर्ट र होमस्टेको तथ्याङ्कमा फरक पाइएको हो ।  

होमस्टेका अध्यक्ष आलेका अनुसार अन्तुका ६८ घरमा होमस्टे सञ्चालन गरिएको छ । जसमा ५८ वटा पुरानै हुन् भने थपिएका नयाँ भने १० वटा रहेका छन् । होटलको सङ्ख्या ६० छ । वडा कार्यलयमा दर्ता भएकामा होटल ५४ होमस्टे ५० वटा रहेका छन् ।  

वडा नम्बर ४ का कम्प्युटर अपरेटर लीला बाँस्ताेलाका अनुसार वडा ४ मा दर्ता भएकामा होटल र कटेज गरी ४० रहेका छन् । जसमा कटेज २५ र होटल १५ दर्तामा छन् । होमस्टे भने ३५ वटा छन् । यस्तै वडा नम्बर ५ मा भने होमस्टे १५ र होटल १४ वटा दर्तामा रहेको वडा कार्यालयका कम्प्युटर अपरेटर रोशन खत्रीले जानकारी दिनुभयो ।  

अन्तुलाई ‘होमस्टे हब’ बनाउने लक्ष्य 

प्रदेश १ सरकारले २०७५ सालमा नै सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गरेको छ । घोषणापछि भने पालिकाले पनि अन्तुलाई ‘होमस्टे हब’ कै रूपमा विकास गर्ने पालिकाले लक्ष्य राखेको छ ।

होमस्टेमा सस्तो खाना र वास, पारिवारिक वातावरण स्थानीय उत्पादनको खानाको परिकार, कृषिले सुधारिएको जीवनशैलीसँगको निकटताले पर्यटकलाई प्रिय बनाइ खुसी राख्ने कार्य गरिन्छ । अध्यक्ष आले भन्नुहुन्छ, ‘होटलमा बस्न र होमस्टेको पारिवारिक वातावरणमा बस्न पनि धेरै फरक हुन्छ ।’  होटलमा भने खाना र बास केही महँगाे पर्ने र पारिवारिक वातावरण कम हुने उहाँको भनाइ छ । 

पर्यटक बेलुका अन्तु पुगेर बास बस्ने गर्छन् र बिहान सूर्योदयको दृश्यावलोकन गरेर फर्कने गरेका छन् । यसरी आउने पर्यटकले अन्तुमा प्रतिव्यक्ति सरदर पाँच सय रुपैयाँ खर्च गर्ने गरेको अन्तु पर्यटन विकास केन्द्रले जनाएको छ । 

फिक्कल छिविटारबाट १४ किलोमिटर कालोपत्रे बाटो हुँदै पुग्न सकिने अन्तुमा फिक्कल अन्तुका लागि सवारीसाधन प्रशस्त हुने गरेकाले पर्यटकलाई अन्तु पुग्न समस्या नभएको बताइएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Yubraj Aryal

    March 28, 2021, 8:47 p.m.

    सुजाताजी , मधुसुदन लामिछाने वडा अध्यक्ष हुनुहुन्छ , अनि अन्तुमा अर्को पनि सामुदायिक होमस्टे छ, अन्तु भनेको अन्तु डाँडा मात्र होइन /

  •  0 Reply

तपाईको प्रतिक्रिया