कोरोनाबाट जोगिन डोटीमा प्रहरीको घरदैलो अभियान

 बैशाख १२, २०७८ आइतबार २०:३४:१४ | विमल बिष्ट
unn.prixa.net

डोटी – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणबाट जोगिन ‘आफ्नो जीवन आफैँ सुरक्षित’ भन्ने नाराका डोटीमा प्रहरीले घरदैलो अभियान सुरु गर्न थालेको छ । 

कोरोना भाइरसको बारेमा सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालयको टोलीले घरदैलो अभियान सञ्चालन गरेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीको टोलीले कोरोनाबाट बच्ने उपाय सिकाउनुका साथै भिडभाड नगर्न तथा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्न थालेको उहाँले बताउनुभयो । 

यसैगरी कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यहाँको जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सव तथा सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । जिल्लाका नौ वटैै पालिका र सरकारी कार्यालयलाई पत्राचार गर्दै मेला, महोत्सव तथा सभा, सम्मेलन स्थगित गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार राति आठ बजेपछि होटेल, रेस्टुरेन्ट खोल्न नपाइने, सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्कको प्रयोग नगरि सार्वजनिक ठाउँमा जानेलाई जरिबाना तिराइ मास्क प्रयोग गर्न पठाउने, सभा र गोष्ठी लगायतका कार्यक्रम सकेसम्म नगर्न र गर्नैपरे स्वास्थ्य मापदण्ड अपनाइ २५ जनाभन्दा बढी उपस्थित नगराउने लगायतका निर्णय गरिएको छ । यी नियम पालना नगर्नेलाई सङ्क्रामक रोग ऐनअनुसार कानुनी कारबाही गरिने जनाइएको छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया