यूएईमा काम जति नि छ, खोज्ने धैर्यता आफूसँग हुनुपर्छ

 बैशाख २४, २०७८ शुक्रबार १४:२९:४३ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

अर्बिन्द्र परियार/नुवाकाेट, हाल यूएई ।

हुन त भिजिट भिसामा भनेर काम गर्न विदेश जानु ठीक होइन । यस्तो गर्नु कतिपय देशमा गैरकानुनी मानिन्छ । तर यूएईले यस्तो कुरालाई मान्यता दिएको छ । यहाँ भिजिटमा आएर आफै काम खोजेर गर्न सक्छु भन्नेले त्यसाे गर्न सक्छन् । मैले पनि त्यही गरेँ ।

म यूएई आउनुभन्दा पहिले नेपालमा पनि काम गर्थेँ । कमाइ पनि ठीकै थियो । पकेट खर्च र परिवार चलाउन सकिरहेको थिएँ । तर कहिलेकाहीँ ठूलै समस्या आइपर्दा भने साहुलाई गुहार्ने अवस्था आउँथ्यो । मसँगैका साथीहरु कोही विदेशमा कमाएर नेपाल फर्किसकेका थिए भने कोही विदेशमा कमाइरहेका थिए । मलाई पनि एकपटक विदेश पुगौं न त भन्ने लाग्यो । 

अरुको देखासिकी गरेरै भए पनि विदेश जाने रहर मनमा जाग्यो । नेपालमा जति कमाए पनि वचत गर्न सकिरहेको थिइनँ । विदेश गएपछि वचत होला भन्ने लागेर पनि विदेश जाने सोचेँ । त्यसपछि म हातमा पासपोर्ट बोकेर म्यानपावर धाउन थालेँ ।  अफिसमा काम गर्न मनले मानिरहेको थिएन । म्यानपावर जानको लागि समय मिलिरहेको थिएन । त्यसैमाथि म्यानपावरले धेरै पैसा माग्ने । कहीँकतै केही सीप लागेन । ३/४ महिना बितिसकेको थियो । अन्त्यमा भिजिट भिसामा जाने सोच आयो । म त्यतिबेला नेपालमा 'ट्राभल इन्डस्ट्री'मा नै काम गर्थेँ । त्यही भएर पनि भिसा निकाल्न मलाई कुनै गाह्रो भएन ।

होटल बुकिङ, प्लेन टिकट, आउन-जानको लागि सबै गरेर ८० हजार रुपैयाँ खर्च गरेँ । भिसा चार्ज को लागि बाँकी एक हजार डलर एनआईसी एसिया बैंकबाट साँटे । जुन, ऋणमा नै लिएको थिएँ । त्यसपछि म सन २०१८ को फेब्रुअरीमा दुबई झरेँ । 

यहाँ मेरो एकजना मामा हुनुहुन्थ्यो । दुई रातको होटल बसाइपछि मामाकोमा बस्न आएँ । मामाले पनि मेरो जागिरको लागि आफूले चिनेका जति सबै जनालाई भन्नुभएको थियो । म आफै पनि बिहानै बासी भात खाएर जागिर खोज्न कोठाबाट निस्किन्थेँ ।

दुबई आउनुभन्दा पहिलेदेखि नै मैले यहाँको बजारको बारेमा अध्ययन गरेको थिएँ । यहाँको मान्छेहरुसँग अलि अलि कुरा गरिसकेको थिएँ । मलाई यहाँ कसरी जागिर खाेज्ने बारेमा थाेरै जानकारी पनि थियो । सोचेको थिएँ सायद अन्तर्वार्ता दिएपछि एउटा न एउटा कम्पनीले कसो नराख्ला ? 

‘वाक इन इन्टरभ्यु’, भनेर लेखेका ठाउँमा पुग्थेँ । त्यहाँ गएर अन्तर्वार्ता पनि दिएँ । तर बिना अनुभव जागिर पाउनको लागि एकदम गाह्रो पर्ने रहेछ । यति हँदाहुँदै पनि मैले हार खाइनँ । बिहान फ्राई राइस र दिउँसो स्यान्डविच र लेबन अपको भरमा धेरै ठाउँमा हिँडे । राति कोठामा फर्केर भोलि कुन कुन कम्पनीको जागिर खुलेको छ हेर्थेँ अनि भोलिपल्ट त्यहीँ पुग्थेँ ।

दलालहरु जहाँ पनि हुने रहेछन् । म पनि त्यो बीचमा एकजना दलालसँग ठोकिन पुगेँ । जागिर दिलाइदिन्छुु भनेर मबाट दुई हजार दिर्हाम पनि खायो । जागिर लगाउनु त परै जाओस् त्यो मान्छे सम्पर्कविहीन भयो । धेरै कोसिस गरेँ तर पैसा उठाउन सकिन । उसको पछि नलागेर म जागिर खोज्न तिर लागेँ । तर मेरो लाखौं प्रयासका बाबजुद पनि मैले जागिर पाइनँ । अन्तिममा हार मानेँ र मनलाई सम्झाउँदै नेपाल जाने सोच बनाएँ ।

नेपाल फर्किन्छु भन्ने सोचेपछि पनि काम खोज्न भने छाडेको थिइनँ । भिसा सकिन ११ दिन मात्रै बाँकी थियो । एउटा कम्पनीले फोन गरेर अन्तर्वार्ताको लागि बोलायो । अन्तर्वार्तामा म छनौट भएँ । अन्ततः नेपाल फर्किने भनेर बसेको मैले त्यहाँ काम पाएँ । त्यही कम्पनीमा काम गर्दागर्दै अहिले दुई वर्ष पनि बितिसकेछ । समय बितेको पत्तै भएन ।

मेरो अनुभवले के भन्छ भने, यूएईमा काम जति नि छ तर धैर्यता हुनुपर्छ । काम खोज्न अल्छी गर्नुहुँदैन । काम खोज्नलाई कन्जुस्याइँ नगरेर लागिरहेमा तपाईं पक्कै पनि सफल हुनुहुनेछ । मनमा प्रतिबद्धता राख्नुहोस् । सबै ध्यान  यहाँकाे बजार बुझ्नमा केन्द्रित गर्नुहोस् । ठुलठुला कम्पनीहरुमा अनलाइनबाट आफ्नो अनुभव र योग्यता पुग्ने पदमा मात्र आवेदन दिनुहोस् ।

सधैं गूगलमा गएर 'वाक इन इन्टरभ्यू' भनेर सर्च गर्नुहोस् र लोकेट गरेको ठाउँमा जानुहोस् । यातायात खर्च धेरै लाग्ने भएकोले हिँडेरै जान सकिने ठाउँमा हिँडेरै जानुस् । पैसा जोगिन्छ । भगवानमाथि भरोसा राख्नुहोस् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Durga prasad chauhan

    May 11, 2021, 1:08 p.m.

    I am also searching job how to find

  •  0 Reply

तपाईको प्रतिक्रिया