साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट

 जेठ १२, २०७८ बुधबार १२:४८:७ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गएकाे साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

प्राधिकरणको तथ्याङ्कअनुसार गएकाे माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।

नेपालमा कूल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ .

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४ दशमलव ०८ प्रतिशत छ । एक करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्री जी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार रहेको जनाइएको छ । गत माघमा एक करोड १३ लाख ५१ हजार प्रयोगकर्ता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्री जीका प्रयोेगकर्ता थपिएका छन् ।

त्यस्तै, फोर जीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको छ । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ ।

आठ महिनामा एनसेल कम्पनीका फोर जीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेको छ । गएकाे माघको तुलनामा फागुनमा पाँच लाख ३० हजार ८०६ जना बढेका छन् । माघमा फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना रहेका थिए ।

प्राधिकरणको तथ्याङ्कअनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोर जीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गएकाे माघको तुलनामा फागुनमा ४४ हजार ५७० जनाले वृद्धि भएको छ । माघमा फोर जीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए ।

यसैगरी, स्मार्ट टेलिकमका फोर जी प्रयोगकर्ता दुई लाख २३ हजार १४५ जना पुगेको छ । गएकाे माघको तुलनामा फोर जीका ग्राहक एक हजारले मात्र बढेका छन् । स्मार्ट टेलिकमका फोर जीका मात्र ग्राहक रहेका छन् । फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ । यसमा एडीएसएलका आठ लाख १२ हजार र एफटीटीएच इन्टरनेट ५९ लाख ४२ हजारभन्दा बढी छन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया