साेलु करिडाेर आयोजनाले छैटौँ पटक म्याद थप्न फाइल अघि बढायो, तीन महिनादेखि काम ठप्प

 जेठ १८, २०७८ मंगलबार १३:१७:३४ | सुवास दर्नाल
unn.prixa.net

फाइल फाेटाे

सोलुखुम्बु – साेलुखुम्बुमा निर्माणाधीन सोलु करिडोर आयोजनाले छैटौँ पटक म्याद थपका लागि फाइल अगाडि बढाएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको आयोजनाले छैटौँ पटक म्याद थपका लागि फाइल अघि बढाएको हो ।

सन् २०२१ को मे महिनामा काम सक्ने सर्तमा पाचौँ पटक म्याद थप गरेको आयोजनाले फेरि एक पटक तीन महिनाका लागि म्याद थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भए पनि स्थानीयको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।

सिरहाको मिर्चैयादेखि तिङ्लासम्म तीन सय दुई वटा टावर बनाउनुपर्नेमा अहिलेसम्म दुई सय ९२ ओटाको फाउन्डेशनकाे काम सकिएको आयोजनाले जनाएको छ । बाँकी १० टावर निमार्ण गर्ने ठाउँमा स्थानीयवासीको अवरोधका कारण काम सुरु नै हुन नसकेको आयोजना प्रमुख गौतमले बताउनुभयो । यस्तै ९० किलोमिटर दुरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ ।

तीन महिनादेखि आयोजना निर्माणको काम ठप्प बनेको छ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ८ पत्ताले क्षेत्रका स्थानीयवासी र कटारी नगरपालिका ४ मरुवाका स्थानीयवासीको अवरोधका कारण काम ठप्प बनेको आयोजना प्रमुख गौतमले बताउनुभयो ।

मुआब्जाको माग गदै स्थानीयवासीले तीन महिनादेखि काम गर्न नदिएको आयोजनाले जनाएको छ । पत्तालेमा दुई किलोमिटर तार टाग्न बाँकी रहेको छ । यस्तै मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको आयाेजना प्रमुख गौतमको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया