‘ओलीले लिनुभएकाे 'समृद्ध नेपाल सुखी नेपाली' काे लक्ष्यलाई सफल पार्न मेराे ध्यान जानेछ’

 जेठ २३, २०७८ आइतबार १५:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताउनुभएको छ । 

आइतवार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले आफूहरूले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले सरकारमा सहभागी भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीले लिनुभएको समृद्ध नेपाल सुखी नेपालीकाे आकाङ्क्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘जसपा र नेकपा (एमाले) को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हाम्राे मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ हामी त्यसलाई मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छाैँ भनेर आज ओलि नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेर अगाडि बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ ।’

उहाँले ऊर्जा मन्त्रालय देशकाे आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया