सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पासाेसहित दुई कस्तुरी मृगकाे अस्थिपञ्जर भेटियाे

 जेठ २४, २०७८ सोमबार २०:४४:३५ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पासोसहित दुई वटा कस्तुरी मृगको अस्थिपञ्जर भेटिएकाे छ । निकुञ्जको कालो ओडार क्षेत्रमा पासोमा परेर कुहिएको अवस्थामा दुई वटा कस्तुरी मृगको अस्थिपञ्जर भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार मृगकाे अस्थिपञ्जर भेटिएकाे ठाउँ खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ नेपाली सेनाको पोस्ट फुरी छाँगाबाट पाँच घण्टा पैदल दुरीमा पर्दछ ।

आइतवार गस्तीका लागि खटिएका निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय युवा समूह, मध्यवर्ती समूह र नाबा समूहका टोलीले कस्तुरी मृगको अस्थिपञ्जर फेला पारेको निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । ती कस्तुरी मृग झन्डै ९/१० महिनाअघि सिकारीले मारेको हुन सक्ने निकुञ्जको अनुमान छ । कस्तुरीको टाउको र खुट्टा लगायतका अस्थिपञ्जर मात्रै बाँकी रहेकाले भाले र पोथी समेत छुट्याउन नसकिने अवस्थामा रहेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताउनुभयो । घटनाको थप अनुसन्धानका लागि सहायक वाडेन पेम्बा शेर्पाको कमान्डमा निकुञ्जको टोली सोमवार दिउँसो घटनास्थलतर्फ लागेको कार्यालयले जनाएको छ ।

अन्य विभिन्न निकुञ्ज क्षेत्रमा वन्यजन्तुको गणना गरिए पनि सगरमाथा निकुञ्जमा अहिलेसम्म याे कार्य भएको छैन । विसं २०३२ मा स्थापित याे निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । सगरमाथासमेत यही निकुञ्जभित्र पर्ने भएकाले यसलाई अति महत्त्वका साथ हेर्ने गरिएको छ । यही निकुञ्ज नजिक ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु लगायत हिमचुचुरा छन् ।

यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिमकुखुरा, लालचुच्चे काग र पहेँलो चुच्चे कागलगायत एक सय ९३ प्रजातिका चरा पाइने बताइए पनि यसको सङ्ख्या र अवस्थाबारे अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएकाे स्थानीयले बताएका छन् । 

अन्तिम अपडेट: चैत १८, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया