मेलम्चीमा आएको बाढीमा हेलम्बुमा २३ जना बेपत्ता, सयौँ विस्थापित

 असार ६, २०७८ आइतबार ८:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा २३ जना हराएका छन् । भेमाथाङ चौरमा गएको पहिरोसँगै मेलम्ची नदीमा मङ्गलवार आएको बाढीमा परि चार जना महिलासहित २३ जना हराएका गाउँपालिकाले विज्ञप्ति निकालेर जानकारी दिएको छ । बाढीमा बेपत्ता हुनेहरुमा १५ जना स्थानीय बासिन्दा र आठ जना मेलम्ची खानेपानी आयोजनामा काम गर्नेहरु रहेका छन् ।

मेलम्ची खानेपानी आयोजनामा काम गर्ने तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपालीलाई बाढीले बगाएको हो । बाढीबाट मेलम्ची बजारमा भएको क्षतिको चर्चा भए पनि हेलम्बुमा पनि ठूलो जनधनको क्षति भएको थियो। सञ्चार सम्पर्क हुन नसक्दा हेलम्बुको विवरण ढिला गरी आएको हो ।

बाढीले हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका २८ घर टहरा बगाएको छ । वडा नम्बर २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले एक सय १२ परिवार विस्थापित भएका गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चनौटेको मुख्य बजारका झण्डै २५ पसल बाढीले बगाएको छ । चनौटेको धेरैजसो घरमा क्षति पुगेको छ । किउलमा रहेको इलाका प्रहरी कार्यालयको भवन पनि बगाएको छ । वडा नम्बर ३ को भण्डारी सिममा रहेका तीन घर पनि बाढीले बगाएको छ ।

बाढीले ६ वटा झोलुङ्गे पुल र तीन वटा मोटरेबल पुल बगाएको गाउँपालिकाले जनाएको छ । तिम्बुमा रहेको मेलम्ची खोलाको पुल, दङतोम्बामा रहेको मोटरेबल पुल, चेक्पु र मेलम्चीध्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको छ । यस्तै काठमाण्डौ–मेलम्ची हुँदै हेलम्बु जाने सडकको डुङ्ग्रे बजार खण्डमा झण्डै तीन सय  मिटर, चनौटेदेखि गणेशसम्मको झण्डै सात सय मिटर, भूमेश्वरी तितेखानी खण्डको झण्डै पाँच मिटर र किउल–तिम्बु–अम्बाथाङ ५ किलोमिटर सडक क्षतिग्रस्त भएको छ ।

चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा परेको छ । बाढीले ८ वटा ट्राउट माछा फर्ममा पूर्ण क्षति भएको हेलम्बु गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया