देशका धेरै ठाउँमा बाढी पहिरो,  मनसुन भित्रिएको २१ दिनमा ३३ जनाको ज्यान गयो

 असार १८, २०७८ शुक्रबार ६:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लगातार परेको झरीका कारण देशका धेरै ठाउँमा बाढी पहिरो आएको छ भने केही क्षेत्र डुबानमा परेको छ । मकवानपुरको पूर्वी राप्ती नदीमा पानीको सतह बढ्दै गएकाले चितवनको सौराहा आसपास र नदी क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ । दुई दिनदेखि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश-१ र प्रदेश-२ मा झरी परिरहेको छ ।

गएराति सबैभन्दा धेरै चितवन, मकवानपुर, विराटनगरलगायत क्षेत्रमा पानी परेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ । नेपालमा मनसुन सुरु भएयता ३३ जनाको ज्यान गएको छ । नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।  

गृह मन्त्रालयले हिजो बेलुका अद्यावधिक गरेको तथ्याङ्कअनुसार २१ दिनको अवधिमा बाढी पहिरोमा परेर ३३ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा पाँच जनाको ज्यान गएको छ भने डोटीमा चार, रोल्पामा तीन तथा प्युठान, रौतहट, तनहुँ र चितवनमा दुई/दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालीकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक/एक जनाको ज्यान गएको छ ।

यस्तै यो अवधिमा ३० जना बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् । यस्तै, यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने ४ सय ७५ घरमा आंशिक क्षति पुगेको छ । यस्तै, आज पनि देशका धेरै ठाउँमा लगातार झरी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया