केहीबेर खुलेको नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द

 असार २४, २०७८ बिहीबार १२:३१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पहिरो हटाएर केहीबेर खुलाइएको नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । बिहान केही बेर खुलेको सडक फेरि बन्द भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण  पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो । 

सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् भने गाडीको लामो लाम लागेको छ । यसैबीच, पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड पनि बन्द भएको छ।नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

सडकको ह्युमपाइप बगाएर बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको छ । यस्तै, मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम सडक खण्ड बन्द भएको छ । पहिरोले जाँदा मध्यपहाडी लोकमार्गको मुसिकोट–चौरजहारी सडक खण्ड र राप्ती राजमार्गको मुसिकोट–सल्यान सडक खण्ड बन्द भएको हो । 

मध्यपहाडी लोकमार्ग रुकुम पश्चिम खण्डको सानीभेरी गाउँपालिकाको सुलिहाले लगायत पुर्तिमकाँडा, गिठाकोट, मुसिकोट नगरपालिकाको छिवांग लगायतका ठाउँमा पहिरो गएको छ । यसैबीच, अत्तरिया स्याले जोड्ने सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको एक मात्र ठूलो भीमदत्त राजमार्ग पनि पहिरोका कारण बन्द भएको छ । 

अहिले देशभरका विभिन्न १२ वटा सडक खण्ड पनि पहिरोका कारण बन्द छन् । मनसुन सुरुभएयता १०६ वटा सडकमार्ग बन्द भएकामा ५८ ठाउँका सडक एकतर्फी सञ्चालनमा आएका छन् । पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया