साेलुखुम्बु : गाउँपालिका केन्द्रकाे विषयमा स्थानीयवासी आन्दाेलित, ‘जनप्रतिनिधि विवादित’

 साउन ५, २०७८ मंगलबार १३:५९:१० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका केन्द्र निर्धारणको विषयमा जनप्रतिनिधि नै विवादमा तानिएका छन् । गाउँपालिकाको मागअनुसार विभिन्न ठाउँमा उपलब्ध भएको जग्गामा सर्वसहमत नहुँदा मतदानमार्फत टुङ्ग्याएपछि जनप्रतिनिधि नै विवादमा तानिएका हुन् । केन्द्र निर्धारणका विषयमा तीन दिनदेखि स्थानीयवासी आन्दोलित छन् । 

गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार उपलब्ध भएको चार वटै ठाउँमा सहमति नजुटेपछि गएकाे शनिवार मतदानमार्फत सर्सिला छनाेट गरिएको थियो । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने त्यस ठाउँ अपायक पर्ने भएकाले गत्तेल या चौखिदोमा हुनुपर्ने मागसहित स्थानीयवासी आन्दोलित बनेका हुन् ।

जनप्रतिनिधिको निर्णय गलत भएको भन्दै स्थानीयवासीले आइतवारदेखि गाउँपालिका केन्द्रमा नारा/जुलुस जारी राखेका छन् । गाउँपालिका अध्यक्ष सागर किराँतीको पुतला दहन गरेका स्थानीयवासीले निर्णय सच्याउनुपर्ने, स्थानीयवासीको मागअनुसार सम्बोधन हुनुपर्ने लगायतको माग राखेका छन् । गाउँपालिकाले माटो परीक्षणदेखि भूगर्वविद्समेतलाई अस्थायी केन्द्र बुङमा ल्याएको भए पनि त्यसको रिपोर्ट गुपचुममा राखेको दुतिमान कुलुङले बताउनुभयो ।

गाउँपालिकाको लाखौँ रुपैयाँ खर्चबाट प्राविधिक टोली ल्याएको भए पनि त्यसको रिपोर्ट सार्वजनिक नहुनु र सबैलाई केन्द्र हुने ठाउँ उपलब्ध हुँदा हुँदै छेउमा रहेको जग्गामा बढी मत आउनु षड्यन्त्रपूर्ण रहेको कुलुङको भनाइ छ । स्थानीयवासी आन्दोलनमा उत्रिँदा समेत गाउँपालिकाका जनप्रतिनिधिले बेवास्ता गर्दा समस्या थपिँदै जाने कांग्रेस नेता सुवास कुलुङले बताउनुभयो ।

जनप्रतिनिधिसमेत किनबेचमा लाग्दा आम महाकुलुङबासीले दुःख पाउने भन्दै आन्दोलका कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ । यस विषयमा कुराकानी गर्न गाउँपालिकाका अध्यक्ष सागर किराँतीसँग सम्पर्क गर्न खोज्दा उहाँकाे फोन लागेन । 

वडा नम्बर ४ का वडाध्यक्षसमेत रहनुभएका कार्यपालिका सदस्य जयकुबेर राईले भने भौगोलिक हिसाबसँगै भविष्यका लागि सिर्सिला केन्द्र उपयुक्त हुने दाबी गर्नुभयो । भूगोलका हिसाबले बलियो, सहज सञ्चारको पहुँच, खुला ठाउँ लगायतका कारण त्याे ठाउँ उपयुक्त हुने उहाँको भनाइ छ ।

वडा नम्बर २ का वडाध्यक्ष प्रदीप कुलुङले भने क्षेत्रगत हिसाबमा सिर्सिला अपायक पर्ने बताउनुभयो । साविक बुङ गाविसलाई समेत त्यस क्षेत्रमा सेवा लिन सहज नहुने उहाँको भनाइ छ ।

अहिले त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । स्थानीयवासीले गाउँपालिकामा ताला लगाउने बताउँदै आएका छन् भने प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलन भड्किन सक्ने अवस्थामा बल प्रयोग गर्न बाध्य हुने बताउँदै आएको छ ।

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिनेश शर्माले आफूहरूको टोलीसमेत त्यस क्षेत्रमा पुगेकाले भौतिक संरचनामा तोडफोड हुने अवस्थामा बल प्रयोगको सिद्धान्त लागू गर्नेे बताउनुभयो ।
नेपाल प्रहरीका डीएसपी कवित कटवालले शान्ति–सुरक्षा कायम गर्ने सवालमा आफूहरू तयारी अवस्थामा रहेको बताउनुभयो । वार्ता र संवादको माध्यमबाट सहमति खोजिनुपर्ने भन्दै उहाँले तोडफोडजन्य कार्यमा नउत्रन आग्रहसमेत गर्नुभयो । 

सूचना लुकाएको आरोप

महाकुलुङ गाउँपालिकाले सूचना दिन आनाकानी गरेको स्थानीयवासीले गुनासो गरेका छन । प्रशासनिक केन्द्रको आह्वान र छनोटसम्बन्धी गाउँपालिकाले गरेको निर्णयको प्रतिलिपिसहितका आवश्यक जानकारी दिन आनाकानी गरेको स्थानीयवासीले गुनासो गरेका हुन् । २०७६ साल मङ्सिर २ गते बसको बैठकको माइन्युटको फोटोकपी, माटो परीक्षण प्रतिवेदन र गोप्य मतदान गरी केन्द्र छनोट बैठकको प्रतिलिपि उपलब्ध गराउन माग गर्दा गाउँपालिका अध्यक्षले लगेको भन्दै प्रमुख प्रशासकीय अधिकृत विष्णुरञ्जन बराल पन्छिएको विज्ञप्तिमा उल्लेख छ ।  

स्थानीवासीको तर्फबाट नेतृत्व गर्दै दुतिमान राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा २४ घण्टाभित्र विवरण उपलब्ध गराउन आग्रह गर्दै उपलब्ध नगराए आन्दोलनलाई थप कडाइ गरिने उल्लेख गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया