साेलुखुम्बुमा जङ्गली जनावरबाट बालीमा क्षति, किसान चिन्तित

 साउन १७, २०७८ आइतबार १३:२१:३३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको ग्रामीण भेगमा किसानले लगाएको मकै जङ्गली जनावरले सखाप बनाएका छन् । भित्र्याउने बेलाको मकै जङ्गली जनावरले खाइदिएपछि किसान चिन्तित बनेका हुन् । निषेधाज्ञाको समयमा अन्य जिल्लाबाट खाद्यान्न ढुवानीमा समस्या हुने र बारीमा लगाएको मकैबाली समेत जङ्गली जनावरले खाइदिएपछि किसानलाई यो वर्ष भोकै हुने पीर लागेको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको मकैसहितका बालीनाली पाक्न नपाइ जङ्गली जीवजन्तुको निशानामा पर्न थालेपछि यहाँका किसानहरु मर्कामा परेका छन् ।

‘बालीमा  जङ्गली भालु, बाँदर र दुम्सी पल्किएको छ, पाक्ने सिजन भएसँगै बोट नै रुँगेर बस्नुपर्ने बाध्यता छ, सधैंभरि बोट समातेर बस्न पनि सकिँदैन, दुःख गरेर खेती लगाए पनि भित्र्याउन नपाइ बारीमै सखाप बनाइदिन्छ, हाम्रो पीडा कसले बुझिदिने ?’ महाकुलुङ गाउँपालिका ५ नुर्कुमका नुरु शेर्पाले गुनासो गर्नुभयो।

सोलुदूधकुण्ड नगरपालिका-३ लोदिङकी माया शेर्पाले दिउँसोको समय बाँदर र रातको समय भालु र दुम्सीले मकै खाने गरेको बताउनुभयो । ‘दिउँसो त बाँदर लखेटिएला । रातको समय भालु र दुम्सी कसरी लखेट्ने,’ उहाँले भन्नुभयो । शेर्पाका अनुसार गाउँका किसानले लगाएको अधिकांश मकैबालीमा जङ्गली जनावरले क्षति पुर्याएको छ ।

यस्तै जिल्लाको जुबु क्षेत्रमा बारीको मकै सकिएपछि घरभित्र नै बाँदर पस्ने गरेको स्थानीय बुद्धिमान बराइलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे–‘बारीको मकै बाँदरले नै सखाप बनाए अहिले घरभित्र नै छिरेर अण्डा लगायतका अन्य खानेकुराहरु खाने तथा नष्ट गर्न थालेको छ, यसअघि त्यस्तो थिएन करिब २ वर्ष भयो बाँदरको आतङ्क बढेको छ।’

ठूला जङ्गली जनावर हात्ती, गैँडाले क्षति पुर्याएमा सरकारले क्षतिपूर्तिको व्यवस्था गरेको तर, साना जङ्गली जनावरले क्षति पुर्याएमा क्षतिपूर्ति तथा राहको व्यवस्था नगर्दा ग्रामीण भेगका किसान समस्यामा परेको उनीहरुको गुनासो छ ।

मकै पाक्ने सिजन सुरु भएसँगै हिँडडुल गर्न त्रास

मकै पाक्ने समय सुरु भएदेखि यहाँका मानिसहरुले बिहान बेलुका हिँड्डुल गर्न त्रास भएको बताएका छन् । मकै पाक्ने सिजनमा घर नजिकै भालु बस्ने भएकाले साँझ बिहान हिँडडुल गर्नै जोखिम भएका तामाखानीका प्रेम मगरले बताउनुभयो ।

अघिल्लो वर्ष घर नजिकैको घुर्यान बारीमा मकै खान आएको भालुले आक्रमण गर्दा लोदिङकी माया शेर्पा गम्भिर घाइते हुनु भएकाे थियाे। आँगन नजिकै भालुको आक्रमणमा परि घाइते भएकी मायाले भन्नुभयो–‘आफ्नो चोट त उपचार गरेर निको हुने क्रममा छ तर जब बर्खायाम सुरु हुन्छ मलाई त्यही घटना झलझली आँखामा आइरहन्छ ।’

सोलुखुम्बुमा पछिल्लो ५ वर्षको तथ्याङ्कलाई केलाउँदा २२ जना भालुको आक्रमणबाट घाइते भएका छन् भने एक जनाको ज्यान गएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । वन ऐनअनुसार वन्यजन्तुलाई कुनै पनि बहानामा सिकार गर्न पाइँदैन ।

त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, दोस्रो संशोधन, २०७४ अनुसार वन्यजन्तुले आक्रमण गरी सामान्य घाइते बनाएमा २० हजारसम्म, सख्त घाइते बनाएमा दुई लाखसम्म र ज्यान गुमाएकाे मृतकको हकवालालाई १० लाखसम्म राहत उपलब्ध गराउने प्रावधान छ । तर स्थानीयले भने क्षतिपूर्ति भन्दा भालु नियन्त्रण नै गर्नु पर्ने माग राखेका छन् ।

जङ्गली जीवजन्तुले पशुधनमा क्षति

साेलुखुम्बुमा जङ्गली जीवजन्तुले विभिन्न पशुधनहरुमा पनि क्षति पुर्याउने गरेको छ । जिल्लामा गएकाे आर्थिक वर्ष २०७६/७७ मा ३२३ वटा पशुधनमा जीवजन्तुले क्षति पुर्याएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

गएकाे आर्थिक वर्षमा वन्यजन्तुबाट क्षति पुर्याएका ३२३ वटा पशुधनमा क्षति पुर्याए बापत ९६ लाख ९ हजार ४ सय ५४ रुपैयाँ क्षतिपूर्ति वितरण गरेको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

पछिल्लो समय वन जङ्गलको क्षेत्रफल बढ्दै जानु, जङ्गली जीवजन्तुको सङ्ख्या समेत बढ्दै जाँदा आहाराको खोजीमा जङ्गली जनवारहरु गाउँबस्तीसम्म पुग्ने गरेको जानकारहरुको अनुमान छ । कतिपय अवस्थामा मानिसहरुको बस्ती जङ्गल क्षेत्रतर्फ विस्तार हुँदै जानुले पनि बालीनाली, मानिस तथा घरपालुवा जनवारहरु जङ्गली जनावरको सिकार हुने गरेको डिभिजन वन कार्यालय डिभिजनल वन अधिकृत विशाल घिमिरेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया