७७ नम्बरकाे जर्सी प्रयाेग नगरिने

 साउन २४, २०७८ आइतबार १६:७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको जर्सी नम्बर ७७ नेपाली क्रिकेटमा प्रयोग नगरिने भएको छ । सर्वाधिक सफल कप्तानमध्येका एक खड्काको जर्सी नम्बर ७७ प्रयोग नगर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । 

गएको मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेपछि खड्काले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आइरहेको जर्सी नम्बर ७७ प्रयोग नगरिने क्यानले जनाएको हो ।   

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका अलराउन्डर पारसले सन् २००९ मा नेपाली टोली सम्हाल्ने जिम्मा पाएका थिए । उनले विनोद दासको कप्तानको आर्मब्यान्ड पहिरिएका थिए । उमेर समूहका खेलबाट राष्ट्रिय टोलीसम्म ठाउँ बनाएका खड्काले बङ्गलादेशमा सन् २००४ मा भएको आईसीसी यु–१९ विश्व कप क्रिकेट खेलेका थिए । त्यही वर्ष मलेसियाविरुद्धको खेलमा आईसीसी इन्टरकन्टिनेन्टल कपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका खड्काले झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेर २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए । त्यसपछि नेपाली टोलीलाई ज्ञानेन्द्र मल्लले सम्हाल्दै आएका छन् ।

विश्व वरीयतामा नेपाल अहिले १२ औँ स्थानमा छ । नेपालले एकदिवसीय मान्यता पाएको छ । नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा ल्याउनका लागि कप्तानको जिम्मेवारी सम्हालेका खड्का सर्वाधिक सफल खेलाडी पनि हुन् । किन भने एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय दुवैमा नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् खड्का । सन् २०१९ मा यूएईविरुद्धको खेलमा पारसले करिअरको पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए । त्यही वर्ष सिङ्गापुरविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्दै पहिलो नेपाली खेलाडी बनेका थिए ।

पारसले नेपाली टोलीबाट १० अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेका छन् । खड्काले १० खेलबाट तीन सय १५ रन जोडेका छन । त्यस्तै ट्वान्टी–२० मा ५६ खेल खेल्दा एक हजार तीन सय ७७ रन बनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया