त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लाग...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल टुङ्गो लगाइ पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दबाब दिँदै आएका वरिष्ठ नेता पौडेलले आज शुक्रवार दिउँसाे सभापति देउवासँग भेट गर्ने समय मिलाउनु भएको हो ।
आज बिहान चाक्सीबारीमा रहेकाे नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरूको बैठकको निर्णयअनुसार उहाँले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवाद तत्काल टुङ्गो लगाइ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दबाब दिन लाग्नुभएको नेता डा. मीनेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका जिल्ला सभापतिहरूको मागअनुसार छिटो क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरिएको थियो ।
नेता रिजालले भन्नुभयो, ‘एकातिर क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्छ भन्ने विषय छ भने अर्कोतिर समयमै अधिवेशन प्रक्रिया सुरु गरेर जानुपर्नेछ । त्यसैले यी व्यावहारिक कठिनाइलाई समाधान गरेर महाधिवेशन सम्पन्न गर्ने बाटोको खोजी गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ । त्यही निष्कर्षको आधारमा सभापतिजीसँग वरिष्ठ नेताले भेटेर कुराकानी गर्ने समय लिनुभएको छ । भरे भेटेर कुरा गर्नुहुन्छ । मलाई विश्वास छ– जस्तोसुकै कठिनाइका बाबजुद पनि ती समस्या समाधान गरेर पार्टीको महाधिवेशन समयमै सम्पन्न हुनेछ ।’
नेपाली कांग्रेसको महाधिवेशन वैधानिक ढङ्गले आउँदाे मङ्सिर ९–१३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद अझै समाधान नहुँदा यसको वैधानिकतामाथि नै प्रश्न उठ्न सक्ने भन्दै पौडेल पक्षले क्रियाशील सदस्यताको बाँकी विवाद छिटो टुङ्गो लगाएर पार्टी महाधिवेशनको प्रक्रिया छिटो टुङ्गो लगाउन सभापति देउवालाई दबाब दिँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।