संविधान कार्यान्वयनप्रति सचेत रहाैँ, ‘कागजकाे खाेस्टाे’ हुनबाट जाेगाऔँ : अध्यक्ष ओली

 असोज ३, २०७८ आइतबार १४:५३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा आग्रह गर्नुभएको छ । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आज आइतवार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूले ताजा जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावना विपरीत भएको टिप्पणी गर्नुभयो ।

उहाँले आफ्नो सरकारको पालमा प्रतिगामी शक्तिले पुनः टाउको उठाउन नसकून् भनेर संविधान कार्यान्वयनका लागि सक्रिय प्रयास भएको बताउनुभयो ।

अध्यक्ष ओलीले सामाजिक जीवनका सबै पक्षको सबलीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता विषयलाई संविधानले मौलिक हकमा समावेश गरेकाले यो संविधान उत्कृष्टभित्र पर्ने बताउँदै यस संविधानले केन्द्रीकृत सामन्ती शासनलाई विकेन्दीकृत गर्दै वास्तविक अधिकार पालिकाससम्म लगेको तथा स्थायित्व र समृद्धिको दिशामा मार्गदर्शन गरेको जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो संविधान ऐतिहासिक दस्तावेज हो । हाम्रो पार्टी यो सफलताप्रति गर्व गर्छ । यसको रक्षा, कार्यान्वयन र विकासमा प्रतिबद्ध रहन्छ । सभामुखलगायत संवैधानिक निकायका पदाधिकारीबाट पदअनुसारको मर्यादा र आचारण होस् भन्ने हाम्रो अपेक्षा हो । नत्र संविधान कागजको खोस्टाेमा परिणत हुने खतरा रहन्छ । त्यसले लोकतन्त्र र देशलाई नोक्सान पुर्‍याउँछ ।’

अध्यक्ष ओलीले लाभका लागि संविधानअन्तर्गत पदको शपथ खाने र फेरि संविधानमाथि मतभेद कायम छ भनेर नक्कली कुरा गर्ने प्रवृत्तिलाई पनि चिरेर अघि बढ्दै राष्ट्रिय आकाङ्क्षालाई पूर्ति गर्न पूर्ण लोकतन्त्रका पक्षमा पार्टी प्रतिबद्ध रहेको जनाउनुभयो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण गर्दा वृहत् रूपमा छलफल भएको स्मरण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका सारभूत पक्षमा अहिले कुनै परिवर्तन गर्न आवश्यक नभएको बताउनुभयो । संविधान सभाका अध्यक्ष नेम्वाङले विगतका संविधान राजा र शासक भएको स्थितिमा वर्तमान संविधान सार्वभौमसत्ता सम्पन्न नागरिकका प्रतिनिधिले बनाएको हुँदा यो पृथक र फरक भएको बताउनुभयो ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले नेपाली नागरिकले युगौँदेखि प्रतिक्षा गरेका र नागरिकका प्रतिनिधिले संविधान बनाउने सपना पूरा भएको दिनका रूपमा आजको दिनलाई लिनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया