‘खला’बाट हराउँदै धान नाच

 कात्तिक २७, २०७८ शनिबार १४:३८:३३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – लिम्बू समुदायमा नाचिने मौलिक नाच हो धान नाच । सुख–दुःख, मेलपात, हाटबजार र अरु उत्सवहरुमा पालाम गाउँदै यो नाच नाच्ने गरिन्छ । तर पछिल्लो समय लिम्बू समुदायको चिनारी धान नाच लोप हुँदै गएको छ ।

पूर्वका लिम्बू बाहुल्य जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतमा नाचिने धान नाच लोप हुन लागेको हो । पहिले जताततै नाचिने धान नाच अहिले ‘खला’बाट विस्थापित भएर भिडियो र स्टेजमा सीमित हुन पुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा धान नाच लोप भएर जान लागेको याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्रकुमार जबेगु बताउनुहन्छ ।

‘खलामा नाचिने धान नाचमा जुन मौलिकता हुन्छ, भिडियो र स्टेजमा देखाइने धान नाचमा हुँदैन’, उहाँले भन्नुभयो ‘खलाबाट त धान नाच हराइ नै सक्यो ।’

धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिक रुपमा नाचिन्छ । धान नाच्नुपूर्व केटा पक्ष र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो सम्बन्ध नलागे मात्र धान नाचिन्छ । धान नाच्दा पालाम् गाउनु अनिवार्य छ ।

केटा पक्ष र केटी पक्षबीच सवाल–जवाफको रुपमा चरणबद्ध गरेर पालाम गाइन्छ । पालाममा सृष्टिको उत्पति, मानव सभ्यताको विकासक्रमदेखि मायापिरतीसम्मका कुरा हुन्छ । पालामी सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गइ विवाह समेत हुन्छ ।

धान नाच र पालम् दुवै खलाबाट लोप भएर जानु दुःखद भएको दर्जनौँ पालाम गीत लेख्नुभएका गीतकार सागर केरुङ बताउनुहुन्छ । 

धान नाचको उत्पत्तिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा उल्लेख छ । कथाअनुसार फाङभङना नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बिउ ल्याएर दिएपछि मानिसहरु कृषि युगमा प्रवेश गरे । तर मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चराहरु आएर खाइदिन थाले । तब मानिसहरुले नयाँ जुक्ति निकाले । पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा हा’ भन्दै धान कुल्चन थाले । चराहरु पर पर भागे । त्यही ‘यालाक्’ (धान कुल्चनु) बाट अपभ्रंश भइ ‘यालाङ्’ (धान नाच) हुन गएको धान नाचबारे जानकारहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया