काठमाण्डौमा तरकारीको माग घट्यो : आयात कम, भाउ भने यथावत्

 माघ १४, २०७८ शुक्रबार ९:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौमा तरकारीको माग घटेको छ । तरकारीको माग घटेपछि केही दिनदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी आयात घटेको छ । 

अस्ति बुधवार ६ सय ३० दशमलव ४९ मेट्रिक टन तरकारी भित्रिएको र त्यसपछि हिजो र आज निरन्तर घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार हिजो पाँच सय ३० दशमलव ८५ मेट्रिक टन र आज बिहान ६ बजेसम्ममा दुई सय २१ दशमलव ९८ मेट्रिक टन तरकारी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क छ । 

कोरोना महामारी, सरकारले लागू गरेका नियम तथा नागरिक बजार कम निस्केका कारण तरकारीको कारोबार घटेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार खपत नै कम भएकाले काठमाण्डौमा तरकारी कम भित्रिएको हो ।

विद्यालय तथा रात्रिकालीन व्यवसाय बन्द भएकाले केही नागरिक उपत्यकाबाहिर गएकाले समेत खपतमा कमी आएको पाइएको समितिका अधिकारी श्रेष्ठको भनाइ छ।

तरकारीको आयात तथा माग कम भए पनि मूल्य खासै घटबढ भएको छैन । कालीमाटी बजारको थोक मूल्यमा आज स्थानीय ठूलो गोलभेँडा प्रतिकिलो ५० देखि ६० रुपैयाँ छ । यस्तै भारतीय ठूलो गोलभेँडा पनि ५० देखि ६०, स्थानीय रातो आलु प्रतिकिलो ३४ देखि ३६, भारतीय रातो आलु प्रतिकिलो २८ देखि ३०, स्थानीय बन्दा १५ देखि २०, मटरकोसा प्रतिकिलो ५० देखि ६०, स्थानीय घ्यू सिमी ९० देखि एक सय, लौका ६० देखि ७०, भिण्डी एक सय ८० देखि दुई सय रुपैयाँ प्रतिकिलो किनबेच भइरहेको समितिले जनाएको छ। 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया