माघे झरीले अलैँची किसानलाई फाइदा

 माघ २१, २०७८ शुक्रबार १६:०:१५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – माघ महिनामा परेकाे झरीका कारण चिसो बढेपछि धेरैजसाे ठाँउमा जनजीवन प्रभावित भइरहेका बेला पूर्वी पहाडी जिल्लाका अलैँची किसानलाई भने फाइदा पुगेको छ ।

अलैँचीमा फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ । यतिबेला अलैँचीलाई पानीको धेरै आवश्यकता पर्ने हुनाले पानी परेपछि पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम र धनकुटालगायतका पूर्वी पहाडी जिल्लाका किसानलाई फाइदा पुगेको हो ।

गएको कात्तिक महिनाको १, २, ३ गतेको बेमाैसमी वर्षापछि कमै मात्र पानी पर्दा मुहानहरू सुक्दै गएपछि अलैँचीको बोट मर्छ कि भनेर चिन्तामा रहेका किसान माघ महिनामा पानी परेपछि बाली सप्रिने आशा जागेकोे फालेलुङ गाउँपालिका ८ का यामकुमार लिम्बूले बताउनुभयो ।

हिउँदमा अलैँचीको बिरुवाले जति बढी पानी पायो पछि त्यति नै राम्रो फल दिने भएकाले माघे झरीले धेरै फाइदा पुर्‍याएकाे किसान लिम्बूले बताउनुभयो । 

जिल्लामा प्रमुख नगदबालीको रूपमा अलैँचीलाई लिइन्छ । जिल्लाको फालेलुङ गाउँपालिका, याङवरक, मिक्लाजुङ र फिदिम नगरपालिकाका केही ठाउँ अलैँची उत्पादनको पकेट क्षेत्र हुन् ।

अलैँचीको भाउ बर्सेनि ओरालो लाग्दै गएपछि यस खेतीबाट विस्थापित हुँदै गएका किसान यस वर्ष आठ वर्षयताकै उच्च भाउ पाएपछि फेरि उत्साहित भएका छन् । 

आज शुक्रवार जिल्लामा अलैँची प्रतिमन (४० केजी) ३८ देखि ४० हजार रुपैयाँसम्ममा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरका अध्यक्ष खेम अधिकारीले बताउनुभयो । माघे झरीले अलैँची किसानसँगै खेत र बारीमा लगाइएको आलु र जौलगायतका बालीमा पनि फाइदा पुगेकाले किसानहरू हर्षित देखिन्छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया