निर्मला हत्या प्रकरणः महिला समूहद्वारा कालो साडीमा विरोध प्रदर्शन

 भदौ २७, २०७५ बुधबार १४:३४:३९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्याका वास्तविक हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरका महिलाहरु फेरि आन्दोलित भएका छन् । 

सरकारले १३ वर्षीया बालिका निर्मलाको हत्यारालाई जोगाउन खोजेको भन्दै आमा समूहका महिलाहरु आन्दोलित भएका हुन् । 

घटनाको झण्डै ४९ दिनसम्म निर्मलाको वास्तविक हत्यारा पत्ता नलागेपछि महिलाहरुले हरितालिकाको अवसरमा कालो साडी लगाएर घटनाको विरोध गरेका छन् । 
निर्मलाको हत्याको विरोधमा गठित ‘दवाबमूलक संघर्ष समिति’ले बुधबार महेन्द्रनगरको मदनचोकमा निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै धर्ना दिएका छन् । 

हरितालिकाको दिन कालो साडी लगाएर आफूहरुलाई विरोधमा उत्रिन रहर नभएको भन्दै एउटा बालिकाको न्यायका लागि यसो गर्नु परेको दबाबमूलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले बताउनुभयो । उहाँले घटना भएको डेढ महिना नाघिसक्दा पनि वास्तविक हत्यारा पत्ता नलाग्नु प्रहरी प्रशासनको लाचारीपन रहेको बताउनुभयो । 

महिलाहरुले निर्मलाको बलात्कारपछि हत्या भएलगत्तैबाट आफ्नो आन्दोलनका कार्यक्रमलाई जारी राखेका थिए । उनीहरुले निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन आफूहरुले शान्तीपूर्ण आन्दोलनलाई जारी राख्ने बताएका छन् । 

सरकारले घटनाको छानबिनका लागि १५ दिनको म्यादसहित उच्चस्तरीय छानबिन समिति महेन्द्रनगर पठाए पनि समितिले घटनाका बारेमा निष्कर्ष निकाल्न नसकेपछि महिलाहरु थप आक्रोशित भएका छन् । 

सरकारले गठन गरेको उच्चस्तरिय समितिले १५ दिनको समय माग गरेपछि महेन्द्रनगरबासीले गरेको सहयोगको अवहेलना गर्दै अहिले जिम्मेवारीबाट भाग्न खोजेको संघर्ष समितिका सदस्य रञ्जु थापाले दावी छ । उहाँले प्रहरी प्रशासनको निकम्मापनले सर्वसाधारण जनताले दुःख पाइरहेको बताउँदै वास्तविक हत्यारालाई पत्ता लगाउने कुरामा सरकार नै मौन रहेका आरोप लगाउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया