तुरतुरे क्षेत्रका बासिन्दा ठूलो क्षतिबाट जोगिए

 भदौ ३०, २०७५ शनिबार १५:०:१४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – बाग्लुङको ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सीमाना रहेको तुरतुरेमा गएरातिदेखि थुनिएको बढीघाट खोलामा पानी बग्दै जान थालेपछि त्यस क्षेत्रका स्थानीयहरुमा बढेको त्रास अहिले हटेको छ ।

पहिरोका कारण थुनिएको तालबाट बिस्तारै पानीको बहाब कम हुँदै गएको र थुनिएको तालबाट दुई फिटभन्दा बढी पानी घटेको स्थानीयवासीले बताएका छन् । अत्यन्तै जोखिम अवस्थामा रहेको त्यो तालबाट पानी बग्न थालेपछि शनिबार बिहानै बाग्लुङ्ग सदरमुकामबाट घटना स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुसहितको टोली सदरमुकाम फर्किएको छ ।

टोली पहिरोग्रस्त क्षेत्र र बढीघाट खोलामा थुनिएको तालको अवलोकन गरी जोखिम कम भएपछि सदरमुकाम फर्किएको हो । पहिरोका कारण ढोरपाटन नगरपालिका २ अन्र्तगत सिमलचौरका चार घरपरिवार विस्थापित बनेका छन् ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध

बढीघाट खोला माथिबाट खसेको ठूलो चट्टानसहितको पहिरोले रातिदेखि नै मध्य पहाडी लोकमार्ग अन्र्तगत भीमगिठे–बुर्तिवाङ्ग सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकको एक किलोमिटरभन्दा बढी लामो भागमा ठूलाठूला चट्टानसहित पहिरो थुप्रिएका कारण सडक अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक सञ्चालन गर्नका लागि दुई साताभन्दा बढी समय लाग्ने वाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनु भएको छ । पहिलो काम पीडितहरुलाई राहत उपलब्ध गराउने, दोश्रो पैदल बाटो खुलाउने र तेश्रो छिटो छरितो रुपमा दुई तिरैबाट विभिन्न उपकरण र साधनको प्रयोग गरी पहिरो पन्छाउने काम गर्ने प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । 

सडक अवरुद्ध बनेपछि बाग्लुङ्गको बुर्तिवाङ्गबाट सदरमुकाम र अन्य क्षेत्रमा आवतजावत गर्ने हजारौं मानिसहरु थप समस्यामा परेका छन् ।

ठूलो मानवीय क्षति हुनबाट जोगियो

बाग्लुङ्गको ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा गएराति ठूलो पहिरो गएर बढीघाट खोला थुनेर बस्ती डुबाए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

रातको समयमा बढीघाट खोलालाई थुन्ने गरी पहिरो गएको खबर सुनेपछि रातभर बाग्लुङ्ग र गुल्मीको खोला  क्षेत्रका बासिन्दाहरु जाग्राम बसेका थिए । उक्त घटनाबाट ठूलो मानवीय क्षति हुने आशंका गरिएको थियो ।

खोला छेउछाउका बासिन्दाहरु घरबाट आफ्ना महत्वपूर्ण सामानहरु निकालेर सुरक्षित स्थानतर्फ लागि सकेका थिए । नागरिकहरु थुनिएको खोला कतिबेला फुट्छ भन्ने त्रासमा रातभर खोलातिर हेरेर बसेका थिए । तर विस्तारै थुनिएको पानी खोलिँदै गएपछि त्रसित स्थानीय बासिन्दा केही ढुक्क भएका छन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया