लाङटाङ राष्ट्रिय निकुञ्जमा सात वर्षमा १ सय १८ वटा अध्ययन, प्रतिवेदन बुझाएको 'रेकर्ड' नै देखिँदैन

 वैशाख ९, २०७९ शुक्रबार ९:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ । निकुञ्जक्षेत्र भित्र पाइने जीवजन्तु, वनस्पति, वन्यजन्तुको आहारा, जलवायु परिवर्तनको असरलगायतका विषयमा अध्ययन–अनुसन्धान गर्नका लागि नेपालीसहित विदेशी विद्यार्थी र अनुसन्धानकर्ता आउने गरेका छन् । निकुञ्जका अनुसार सात वर्षमा एक सय १८ वटा अध्ययन भएको छ । 

आर्थिक वर्ष २०७१/७२ मा १२, आव २०७२/७३ मा १६, आव २०७३/७४ मा १९, आर्थिक वर्ष २०७४/७५ मा २७, २०७५/७६ मा २२, २०७६/७७ मा १४ र आर्थिक वर्ष २०७७/७८ मा आठ वटा अध्ययन–अनुसन्धान भएको निकुञ्जले जनाएको छ । 

हाब्रे (रेडपान्डा) को वासस्थानको अवस्था, कस्तुरी मृगको वासस्थान र सङ्ख्या, याला ग्लासियर (हिमनदी) को अवस्था, जलवायु परिवर्तनका कारण लाङटाङमा पाइने वनस्पतिमा परेको असर, मानव वन्यजन्तु द्वन्द्व र हिउँ चितुवाको आहारा (झारल), माथिल्लो त्रिशूली थ्री ए सम्बन्धी अध्ययन भएका छन् । 

तर यतिका धेरै अध्ययन भए पनि निकुञ्ज कार्यालयमा प्रतिवेदन बुझाउने भने कम छन् । निकुञ्जमा प्रत्येक वर्ष अध्ययन, अनुसन्धान हुने गरेको भए पनि प्रतिवेदन बुझाउन आनाकानी गर्ने गरेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताउनुभयो ।

‘यहाँ भएका अध्ययन प्रतिवेदन नियमित बुझाउने गरेको भए कार्यालयमा एउटा लाइब्रेरी नै बनिसक्थ्यो’, उहाँले भन्नुभयो, ‘तर प्रतिवेदन बुझाउने गरेका छैनन् ।’ अध्ययन गरेपछि कार्यालय तथा विभागलाई एक–एक प्रति प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ । तर यसलाई धेरैजसोले कार्यान्वयन गरेका छैनन्, प्रतिवेदन बुझाएको रेकर्ड नै देखिँदैन । प्रतिवेदन तयार गरेपछि कार्यालयले अन्तिम स्वीकृति दिनुपर्ने प्रावधान नभएका कारण प्रतिवेदन नबुझाएका हुन सक्ने प्रमुख संरक्षण अधिकृत भट्टराई बताउनुहुन्छ । स्थलगत रूपमा अध्ययन गर्नका लागि मात्र स्वीकृति लिनुपर्ने व्यवस्था छ । 

यो निकुञ्जमा सन् १९४९ मा पहिलो पटक अध्ययन गरिएको थियो । सुरुमा मेजर एचडब्लु तिलमनले टेलर र पोलुनिन सहित ब्रिटिश म्युजियमका लागि हेर्बेरियम र चराको स्पेसिमेन संकलन गर्नुभएको थियो । 

सन् १९८७ मा तिम्मेरम्यान सी र ईआरपी प्लाटजेले चिज उद्योगलाई आवश्यक पर्ने ऊर्जाको वातावरणीय प्रभाव सम्बन्धमा क्यान्जिन क्षेत्रमा अध्ययन गर्नुभएको थियो । त्यसयता निकुञ्जमा धेरै अनुसन्धान भएको छ । 

निकुञ्जमा अध्ययन, अनुसन्धान गरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा बुझाउने गरे पनि धेरैजसो प्रतिवेदन निकुञ्जमा आएको छैन । क्यान्जिन क्षेत्रमा पर्ने हिमनदीको बारेमा भने प्रत्येक वर्ष अध्ययन हुँदै आएको छ ।

निकुञ्जमा वन विभाग, वनस्पति विभाग, त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभाग कीर्तिपुर, काठमाण्डौ विश्वविद्यालय, अमृत साइन्स क्याम्पस, आईओएफ पोखरा, खानी तथा भूगर्भ विभाग लगायतका ठाउँबाट अध्ययन गर्न आउने गरेका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो । हिमनदीको बारेमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले प्रत्येक वर्ष अध्ययन गर्दै आएको छ । 

निकुञ्जमा हुने अध्ययनले निकुञ्जको व्यवस्थापनमा समेत सहयोग पुग्छ । २०३२ सालमा स्थापना भएको निकुञ्ज तीन जिल्लामा फैलिएको छ । निकुञ्जले रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको सात प्रतिशत भूभाग ओगटेको छ । निकुञ्जमा एक हजारभन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, दुई सय ५० भन्दा बढी पक्षी, ११ प्रकारका सरिसृप, ३० प्रकारका माछा, १० प्रकारका माकुरा र ५८ प्रकारका पुतली पाइन्छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया