१७ जिल्लामा निर्वाचन आयोगले खटायो केन्द्रीय अनुगमन टोली

 बैशाख २५, २०७९ आइतबार ७:१३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनावका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षाको दृष्टिले संवेदनशील मानिएका जिल्लामा केन्द्रीय अनुगमन टोली खटाइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, विश्वसनीयतालगायतका विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएको बताउनुभयो । उहाँले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत चुनाव सम्पन्न गर्न कुनै पनि आग्रह—पूर्वाग्रह नराखि ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि आग्रह गर्नुभएको छ । उहाँ मतदान वा मतदानपछि हुने गणना बिथोल्ने प्रवृत्ति देखिएमा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत निकायसँग समन्वय गरी सहजीकरण र समन्वय गर्न पनि टोलीलाई आग्रह गर्नुभएको छ ।

सबै पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ । त्यसअगाडि नै मतगणना सक्ने गरी काम भइरहेको र आयोगका कारणले ढिलाइ नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ । आयोगका आयुक्त एवम् केन्द्रीय अनुगमन समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले आयोगले ‘सानो तर स्मार्ट’ अनुगमन टोली खटाइएको बताउनुभयो ।

कुनै दलले जित्ने वा हार्ने बहानामा गणना रोक्न नहुने र तोकिएको समयमा कुनै दल र उम्मेदवारका प्रतिनिधि बस्न नआए पनि गणना प्रक्रिया सुरु गराउन उहाँको आग्रह छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया