मृतकका परिवारसँग ७ बुँदे सहमतिपछि कटारी नगरपालिका-१० बाट उठाइयो शव र मतपेटिका

 जेठ १, २०७९ आइतबार २०:२०:४२ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको कटारी नगरपालिका ७ सोरुङ्ग छविसेमा पर्ने कालिका माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आजमात्र मतपेटिका उठाइएको छ । शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका उठाउने क्रममा स्थिति असहज भएपछि प्रहरीले चलाएको गोली लागेर स्थानीय एक युवकको ज्यान गएको थियो ।

प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको परिवारसँग ७ बुँदे सहमति भएपछि उदयपुरको कटारी नगरपालिका-१० सोरुङछविसे स्थित कालिका माध्यामिक विद्यालय मतदान केन्द्रको मतपेटीका कटारी ल्याँदै छ ।शुक्रबार प्रहरीले गोली चलाउँदा १९ वर्षीय नवीन भनिने वीरबहादुर कटुवालको ज्यान गएपछि स्थानीयले शव र मतपेटिका दुवै उठाउन दिएका थिएनन् ।

आज बिहान प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव सहित जिल्ला सुरक्षा समितिका सदस्य, राजनैतिक दलका प्रतिनिधि, विभिन्न पार्टीका उम्मेदवार सहित मृतकका परिवारसँग ७ बुँदे सहमति भएपछि स्थानीयले आज मतपेटीका उठाउन दिएका हुन् । युवकको शव पनि पोष्टमार्टमका लागि कटारी ल्याइँदै गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

स्थानीयले मृतककलाई शहीद घोषणा गर्नुपर्ने, परिवारका सदस्यलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकको नाममा स्मारक बनाउनुपर्ने, मृतकका परिवारका एक सदस्यलाई नगरपालिकामा रोजगारीको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै मतपेटिका कटारी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन दिएका थिएनन् ।स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धतापछि मतपेटिका उठाइएको प्रजिअ यादवले बताउनुभयो । उहाँले भन्नुभयो, 'मत पेटिका र शव सँगै लगिँदैछ । अब मत गणना लगायतका कामहरु अगाडि बढाइनेछ ।’

अन्तिम अपडेट: चैत २९, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया