सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्षमा कांग्रेसका बस्नेत निर्वाचित

 जेठ २, २०७९ सोमबार ८:२:५३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका खिलराज बस्नेत निर्वाचित हुनुभएको छ । यसअघि एमालेले जितेको सोताङमा एमालेका उम्मेदवारलाई १ सय २८ मतले पछि पार्दै कांग्रेस महासमिति सदस्य बस्नेत पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँले १ हजार ६ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार प्रकाश कार्कीले १ हजार ५ सय २० मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक खड्काले १ हजार ३ सय ५३ मत ल्याउनुभयो ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै उम्मेदवार अञ्जु नाछिरिङ विजयी हुनुभयो । उहाँले १ हजार ६ सय ६९ मत ल्याउँदा एमाले उम्मेदवार मनसरी राईले १ हजार ६ सय ३४ मत पाउनुभएको छ । ५ वटा वडा रहेको सोताङ गाउँपालिकाका ३ वडामा कांग्रेस र २ वडामा एमालेले जितेको छ ।

वडा नम्बर १ मा कांग्रेसका जंगबहादुर गुरुङ, वडा नम्बर २ मा नेकपा एमालेका श्याम राई, वडा नम्बर ३ मा नेपाली कांग्रेसका गोकर्ण बस्नेत, वडा नम्बर ४ मा कांग्रेसकै दीप राई र वडा नम्बर ५ मा नेकपा एमालेका मानवीर राई वडा अध्यक्षमा निर्वाचित हुनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया