आमासँग बलबहादुरको अन्तिम बोली

 असोज ५, २०७५ शुक्रबार १४:५९:३५ | सुजता सुनुवार

काठमाडौं – सोमबार राती बलबहादुर कुलुङले संसार छोड्नुभयो । विषाक्त रक्सीले उहाँको ज्यान लियो । त्यो पनि बिरानो देशमा भएका बेला । 

एक दिनअघि अथवा आइतबार मात्रै इलामको देउमाइ नगरपालिका– ७ सिद्दिथुम्का बलबहादुरले आमालाई फोन गर्नुभएको थियो । दसैँ आउन एक महिना मात्रै बाँकी भएकाले फूलमायाले छोरालाई यसपालीको दसैँमा घर आउन भन्नुभयो । 

तर उहाँले यो वर्ष बहिनी आइन भने आफू अर्को वर्ष मात्रै आउने बताउनुभयो आमालाई । उहाँकी बहिनी अहिले अमेरिकामा छिन् । ‘मैले बहिनीसँग गफ गरे यो साल बहिनी आउँछु भनेको छ, उनी आइन भने म आउँदिन आइनन भने चाहिँ सोचौंला भन्यो’ फूलमायाले भन्नुभयो । 

दसैँमा घर नआउने भएपनि आमालाई सुन किनिदिने योजना बनाउनुभएको थियो बलबहादुरले । ‘मैले उसलाई जसरी पनि आइज न भनेको थिए तर मेरो चिन्ता नलिनु बहिनीसँग बस्दै गर्नु  तपाईंलाई मंसिरमा सुन किन्ने पैसा पठाउँछु ।

सुन किनेर लगाउनु भन्यो’ फूलमाया भन्नुहुन्छ ‘अर्को वर्षको दसैँ बहिनी, तपाईं र म भएर मनाउनुपर्छ भनेको थियो ।’ तर फूलमायाले छोराको त्यही बोली नै अन्तिम होला अनि अब कहिल्यै छोरासँग दसैँ मनाउन पाइँदैन भनेर सोच्नुभएको थिएन । 

चार वर्षदेखि अवैधानिक थिए बलबहादुर 

बलबहादुर मलेसिया गएको ६ वर्ष भयो । उहाँ सेक्युरिटी गार्डमा जति तलब हुन्छ भनेर मलेसिया पुग्नुभएको थियो, त्यो भएन । भनेको जति मात्रै होइन कम्पनीले समयमा तलब पनि दिएन । दुई वर्षको सम्झौता उहाँले त्यही कम्पनीमा काट्नुभयो । 

तलब नपाउने समस्याकै कारण उहाँ भागेर काम गर्न थाल्नुभयो । भागेर काम गरिरहेको कुरा पनि बलबहादुरले आमालाई सुनाउनुभएको थियो । केही महिनाअघि मलेसियामा अवैधानिक भएर काम गरिरहेकाहरु मलेसिया सरकारले दिएको आममाफीमा नफर्किए पक्रिने खबर रेडियो, टिभीले भनेका भन्यै थिए । फूलमायाले पनि खबर सुन्नुभयो । छोरालाई उहाँले भागेर काम नगर्न भन्दै फर्किन भन्नुभयो । 

तर बलबहादुरले अवैधानिक भएपनि काम सजिलो अनि कमाइ धेरै हुने भएकाले नफर्किने बताउनुभयो । एक वर्ष अवैधानिक भएर बसेरै कमाउने अनि अर्को मंसिरमा घर फर्किने योजना थियो बलबहादुरको । 

मलेसियाबाट फर्किएर युएई जाने तयारीमा हुनुहुन्थ्यो बलबहादुर । त्यसकै लागि पैसा जुटाउन पनि अब एक वर्ष बस्ने भन्नुभएको थियो आमासँग । तर अर्को वर्षको दसैँ आमासँग मनाउने अनि कमाउने फेरि युएई जाने बलबहादुरका सपना मलेसियामै बिलाए । 

उहाँको शव ल्याउन परिवारले वडा कार्यालयबाट सिफारिस बनाएको छ । शव छिटो ल्याउन पहल गरिदिन पनि सरकारसँग परिवारले आग्रह गरेको छ । 

यो पनि पढ्नुहोस् । 

बान्ता हुन थालेपछि मिमबहादुरले श्रीमतीलाई भिडियो कल गर्न भनेका थिए

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया