निगुराे बेचेरै जीवन धान्नेहरु

 असार ३२, २०७९ शनिबार १८:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको श्रोत बनेको छ । सामुदायिक वनमा पाइने निगुरोबाट नै सयौं परिवारले रोजगारी पाएको छ भने उनीहरुको दैनिक जीवन गुजारा हुने गरेको छ ।

निगुरोको सिजन भएकोले पनि निगुरो टिप्नका लागि मोरङका सामुदायिक जंगलमा जाने गरेका मानिसहरु बिहानैदेखि उल्लेख्य हुने गरेका छन् । परिवार चलाउन तरकारी व्यापारीहरु निगुरो टिप्नका लागि टाढाटाढाबाट सामुदायिक जंगलमा जाने गर्छन् ।

पूर्वी मोरङका जंगलमा बिहानै झिस्मिसेबाट नै डोको बोकेर पस्नेको ठूलो संख्या देख्न सकिन्छ । चैत महिनादेखि कात्तिकसम्मको निगुरो पाइने सिजनलाई केन्द्रित गरेर उनीहरु वर्ष दिनको आफ्नो गुजारा चलाउन जंगल धाउँछन् । जंगल पसेका मानिसहरु बिहान ११ बजे सम्ममा डोकोभरी निगुरो बोकेर निस्कन्छन् । सिरहा, सप्तरीदेखि झापाको काँकडभित्तासम्मका व्यापारीहरु निगुरो टिप्न आउने गरेका छन् ।

पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्ग लगायतका सामुदायिक वनमा प्राकृतिक निगुरो पाइन्छ । यही निगुरोका कारण कतिपयको दैनिक गुजारा चल्ने गरेको छ । स्थानीय बजारदेखि काठमाडौंका भान्सासम्म पुग्ने यहाँको निगुरोले हजारौको संख्यामा मानिसलाई रोजगारी दिएको छ । लकडाउन अघि काठमाण्डौ सम्मका व्यापारी आएर निगुरो लैजाने गरेको स्थानीय व्यापारीहरु बताउँछन् । गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि भने निगुरो निकासी लगभग ठप्प भएको उनीहरुको भनाइ छ । यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादन कम भएको छ ।

२० वर्ष अघिदेखि पथरी र बेलबारी बीचका जंगलको निगुरो संकलन गर्दै धरान, विराटनगर, इटहरी, दमक, बिर्तामोड लगरे बिक्री गर्दै आएको निगुरो व्यापारीहरु बताउँछन् । निगुरो व्यापार गरेरै आफ्नो दैनिक गुजारा चलिरहेको उनीहरु बताउँछन् ।  

पथरी शनिश्चरे, लेटाङ, बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक ३/४ सय मानिसले निगुरो टिप्दै आएका छन् । धेरै मुजदुरले दैनिक निगुरो बेचेरै परिवार चलाउने गरेका छन् । यो क्षेत्रमा सय हाराहारी ठेकेदारले दैनिक ठूलो संख्यामा निगुरो संकलन गरी विभिन्न बजारमा बिक्री गर्ने गरेका मजदुर बताउँछन् । दैनिक एक जनाले ३० देखि ७० मुठासम्म निगुरो टिप्ने गरेको उनीहरुको भनाइ छ । निगुरो टिप्ने एकजनाले दैनिक ४ सयदेखि ६ सय रुपैयाँसम्म त कसैले  २ हजार रुपैयाँसम्म कमाउने गरेको उनीहरु बताउँछन् ।

निगुरो टिप्न विद्यालय तहमा पढ्ने बालबालिकादेखि कलेज स्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । निगुरो टिप्नेमा बालबालिका र स्कुले विद्यार्थी मात्र हुँदैनन् । लकडाउनअघि पथरी शनिश्चरे, लेटाङ, बेलबारी क्षेत्रबाट दैनिक पाँच गाडी निगुरो काठमाडौं आउने गरेको थियो । पूर्वी मोरङमा पाइने 'अर्गानिक' तरकारी निगुरोलाई ‘ब्राण्डिङ’ गर्नसके प्रदेशकै आम्दानीको स्रोत बन्नसक्ने प्रचुर सम्भावना रहेको उनीहरुको भनाइ छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया