ताप्लेजुङबाट चार घण्टामै तराई...

 साउन १४, २०७९ शनिबार ९:२२:२६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - सरकारले हिमाली जिल्ला ताप्लेजुङबाट तराई जोडिएको तमोर करिडोर कालोपत्र गर्ने भएको छ । पूर्वी पहाडी जिल्लाको विकाससँग प्रत्यक्ष जोडिएको तमोर करिडोर कालोपत्र भएपछि चार घण्टामै ताप्लेजुङबाट तराई पुग्न सकिने छ। 

करिडोर कालोपत्रका लागि बहुवर्षीय ठेक्का सम्बन्धमा ५ अर्ब ७६ करोड ८५ लाख रुपैयाँमा विनियोजन भएको छ । २०७९ साल वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले करिडोरलाई बहुवर्षीय योजनामा लैजान र निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो । 

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको नेतृत्वमा तमोर करिडोरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार गरी बहुवर्षीय ठेक्का सम्झौताका लागि राष्ट्रिय योजना आयोग पठाइएको थियो । 

स्रोत सुनिश्चितता भएका धेरै आयोजनाहरुमध्ये तमोर करिडोर पहिलो नम्बरमा रहेको छ ।

कहिलेदेखि सुरु हुन्छ कालोपत्रकाे काम ?

तमोर करिडोर कालोपत्रको काम असोजको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी छ । यसअघि साउनदेखि नै काम थाल्ने भनिएको थियो । आयोजना प्रमुख कुवेर नेपालीले कालोपत्रको लागि ठेक्का प्रक्रियामा लैजान गुहकार्य भइरहेको जानकारी दिनुभयो । 

‘सबै पूर्व तयारी सकिए पनि यो बहुवर्षे योजना भएकाले ठेक्का सहमतिको योजना आयोगले गर्नेगर्छ । ठेक्का यही हप्ता खुल्नेछ’ उहाँले भन्नुभयो ‘पालिका तहबाट पनि केही सहयोग मिलेको छ । टेण्डर आह्वानपछि असोज अन्तिम हप्तादेखि कालोपत्रको काम सुरु हुनेछ।’

२०६५ सालदेखि औपचारिक रुपमा थालिएको तमोर करिडोरको २३८ किमीमध्ये ११० किमी सडक खण्ड अर्थात धनकुटाको मूलघाटबाट पाँचथरको गणेशचोकसम्म पनि कालोपत्र हुने उहाँले बताउनु भयो ।  यो करिडोर धरान हुँदै धनकुटाको मूलघाट लगायत विभिन्न ठाउँबाट तमोरको किनारैकिनार पाँचथर, तेह्रथुम, ताप्लेजुङको ओलाङचुङगोला, चीनको सिमाना तिप्ताला भञ्ज्याङबाट चीनको रिउसम्म जोडिने छ।

कालोपत्रको काम सुरु भएको ३ वर्षभित्रै सकिने नेपालीको दाबी छ । करिडोर कालोपत्रको काम दुई वटा कार्यालयमार्फत हेरिने छ । धरानबाट पाँचथरको सुभाङ खोलासम्म एउटा कार्यालयले र सुभाङ खोलाबाट ताप्लेजुङकाे ओलाङचुङगोला हुँदै चीन जोड्ने सडक खण्डको काम ताप्लेजुङमा रहेको अर्काे कार्यालयले हेर्ने छ ।

तमोर करिडोर अन्तर्गत विभिन्न ठाउँका लागि बजेट विनियोजन भइ ठेक्का प्रक्रिया पछिको काम सुरु भएको छ । तमोर करिडोरको मूलघाटदेखि पाँचथरको भालुचोक खण्डमा रहेका ७ वटा खोलामा पुल निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भइ काम सुरु भएको छ । त्यो क्षेत्रमा रहेका ठूला खोलाहरु नाबा, रगुवा र छरुवामा पुल निर्माणको काम धमाधम भइरहेको आयाेजना प्रमुख नेपालीले बताउनुभयो । 

पाँचथरको सुभाङबाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पर्ने थिवासम्मको ५७ किलोमिटर सडक ग्राबेलको लागि ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो सडक खण्डको तीन प्याकेजमा काम भइरहेको उत्तर दक्षिण (ओलाङचुङगोला) सडक आयोजना ताप्लेजुङका प्रमुख अमिन्द्र खड्काले बताउनुभयो । अब ग्राबेलको काम सम्पन्न भएपछि पिचको काम हुने सुरु उहाँकाे भनाइ छ । 

उहाँका अनुसार ताप्लेजुङको ओलाङचुङगोला पुग्न तमोर नदीमा ४ वटासहित १५ वटा पुलको आवश्यकता रहेकाे छ । 

पूर्वी पहाडी जिल्लासँग कति हुन्छ दूरी ?

तमोर करिडोर सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र तराईबीचको दूरी धेरै घट्ने छ ।

करिडोर निर्माणपछि पाँचथरको फिदिमदेखि धरान झन्डै ३ घण्टामा पुग्न सकिन्छ भने ताप्लेजुङदेखि झन्डै ४ घण्टामा धरान पुग्न सकिन्छ ।  यस्तै ताप्लेजुङबाट धरानको दूरी झन्डै १९० किलाेमिटरमा खुम्चिने बताइएको छ । अहिले यहाँका नागरिकहरु इलाम, झापा र मोरङ हुँदै झन्डै ३ सय ५० किमी दूरी पार गरेर धरान पुग्ने गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया