गन्तव्य देशका समस्या समाधान गरिदिन मन्त्री कुँवरसँग वैदेशिक रोजगार व्यवसायीको आग्रह

 साउन २९, २०७९ आइतबार १७:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई भेटेर नेपाली श्रमिकको गन्तव्य देशमा हुने गरेका समस्या समाधानको लागि आग्रह गरेको छ ।

आइतबार मन्त्रालयमा गएर मञ्चको टोलीले साउदी, मलेसिया लगायतका देशमा रहेका विभिन्न ८ वटा समस्याबारे मन्त्री कुँवरलाई जानकारी गराएको हो । साउदीमा व्यवसायीले भोग्ने गरेका समस्याबारे मञ्चले बुँदागत रुपमा सुझावसहित ८ वटा विषयको उठान गरेको छ । जसमा कागजात प्रमाणीकरण, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरुले गर्ने काम, राहदानी पेश र सूचना प्रणाली रहेका छन् । 

त्यस्तै मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई जानकारी गराएको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भए पनि उनीहरुले त्यहाँ जादाँ विभिन्न समस्या भोग्नु पर्ने भएकाले यो झन्झटिलो प्रक्रियालाई सरल बनाउन मन्त्रीलाई पहल गरिदिन मञ्चले आग्रह गरेको मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनु भएको छ । 

उनीहरुका समस्यालाई बुझ्दै मन्त्री कुँवरले आफूले यी समस्या समाधानका लागि पहल गर्ने वचन दिनु भएको छ । उहाँले आफूले सम्बन्धित देशका राजदूतलाई भेटर पनि नेपाली कामदारलाई सहज वातावारण बनाउनका लागि पहल गरेको जानकारी दिनुभयो । साथै उहाँले अहिले वैदेशिक रोजगारीमा थुप्रै खालका समस्या देखिएकाले श्रम बजार मात्रै नभई व्यवसायलाई पनि मर्यादित बनाउनका लागि सबैले पहल गर्नुपर्ने बताउनु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया