देशैभरिका मिटरब्याजी पीडित न्याय माग्न काठमाण्डौ आउने तयारीमा

 भदौ २, २०७९ बिहिबार १७:११:४० | उज्यालो सहकर्मी
unn.prixa.net

माइतीघरमा न्याय माग्दै धर्नामा बसेका नवलपरासीका मिटरब्याजी पीडित

काठमाण्डाै – सरकारलाई दबाब दिन दैशैभरिका मिटरब्याजी पीडितले काठमाण्डौ आउने तयारी गरेका छन् । काठमाण्डौ आएर धर्नामा बसेका केही मिटरब्याजीको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरे पनि न्याय पाउने सम्भावना कम रहेको भन्दै देशैभरका पीडित काठमाण्डौ आउने तयारी गरेका हुन् । 

पीडितले मिटरब्याज असुलीमा संलग्नलाई कारबाही गर्ने कुरा लिखितमा नभइ मौखिकमा मात्र आएकाले विश्वास गर्ने कुनै आधार नभएको बताएका छन् । सरकारको निर्णयपछि दबाब दिन देशैभरिका पीडितलाई माइतीघर बोलाएको नवलपरासीका मिटरब्याजी पीडित जितबहादुर थापा मगरले बताउनुभयो । थापाका अनुसार कैलाली र दाङबाट आज बिहीवार राति मिटरब्याजी पीडित काठमाण्डौ आउँदैछन् । भोलि शुक्रवार कपिलवस्तु र त्यसैगरी पूर्वी जिल्लाबाट पनि पीडित काठमाण्डौ आउन लागेको उहाँले बताउनुभयो ।  

गएको शुक्रवार नवलपरासीका मिटरब्याजी पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न गठन भएको ६ सदस्यीय कार्यदलले मिटरब्याजको अनुसन्धान गरी प्रतिवेदन बुझाउन कम्तीमा एक महिना लाग्ने भनेपछि मिटरब्याजी पीडित सरकारसँग असन्तुष्ट भएका छन् । पीडितले तत्काल न्याय पाउनुपर्ने माग गरेका छन् । तर कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्मकुमार भुसासले यो समस्याको देशव्यापी रूपमै अन्त्य गर्न अझ बढी समय लाग्न सक्ने बताउनुभएको छ । यो देशैभरिको समस्या भएको र सबैको समस्याको समाधान एकैचोटि गर्नुपर्ने उहाँले बताउनुभयाे । 

यसअघि गएको जेठ २९ गते धर्ना दिन आएका पीडितलाई न्याय दिलाउने र दोषीलाई कारबाही गर्ने सम्झौता भएपछि उनीहरू घर फर्किएका थिए । तर समस्या समाधान भएन । काठमाण्डौको माइतीघरमा न्याय माग्दै धर्ना दिएका नवलपरासीका मिटरब्याजी पीडितले न्याय नपाइ गाउँ नफर्किने निधो गरेका छन् । उनीहरू धर्नामा बसेको आज १८ दिन भइसकेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया