स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार

 असोज १२, २०७५ शुक्रबार ५:५०:५७ | रासस
unn.prixa.net

काठमाडौं - सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । 

आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको सम्भावनाबारे छलफल गर्न लागेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक बजारमा रोजगारीको अवसर सिर्जना गरी वैदेशिक रोजगारीको दरलाई न्यूनीकरण गर्न छलफल शुरु गरिएको बताउनुभयो । उहाँले स्वदेशमै रोजगारी उपलब्ध गराउन सरोकारवालासँगको छलफललाई तीव्रता दिनुभएको छ । 

श्रममन्त्री विष्टले बिहीबार सूचना प्रविधिका क्षेत्रमा रोजगारीको बृहत् सम्भाव्यताबारे कम्प्युटर एसोशियसन नेपाल (क्यान) महासङ्घका पदाधिकारीसँग छलफल गर्नुभयो । 

सो अवसरमा मन्त्री विष्टले सूचना प्रविधि ९आइटी० का क्षेत्रमा रोजगारीको ठूलो सम्भावना रहेको बताउँदै आइटी क्षेत्रमा ठूलो सङ्ख्यामा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभयो । यस क्षेत्रबाट बढीभन्दा बढी रोजगारी उपलब्ध गराउन सकिने उल्लेख गर्दै उहाँले सूचना प्रविधि क्षेत्रका रोजगारीलाई व्यवस्थित र मर्यादित बनाइनुपर्नेमा जोड दिनुभयो । 

आइटी क्षेत्रले प्रदान गर्नसक्ने रोजगारीका अवसरका बारेमा खुला छलफल गर्न सुझाव दिँदै मन्त्री विष्टले छलफलका क्रममा प्राप्त सुझाव सरकारलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । प्राविधिक शिक्षाको अभावमा मानिस अब निरक्षर बराबर हुने उल्लेख गर्दै उहाँले विद्यालय तहमा कम्प्युटर शिक्षालाई अनिवार्य विषयका रुपमा लैजान आफूले पहल गर्ने बताउनुभयो । 

क्यान महासङ्घले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानको प्रशंसा गर्दै उहाँले सरकारी कार्यालयलको दस्तावेजलाई ‘डिजिटलाइज्ड’ गर्नसके हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना हुने बताउनभुयो । 

क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिका क्षेत्रमा रोजगारीको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारको योजना सफल बनाउन महासङ्घको भरपुर सहयोग रहने बताउनुभयो । 

विद्यालय तहमा कम्प्युटर शिक्षालाई अनिवार्य विषयका रुपमा लैजानसके केही हदसम्म रोजगारीको अवसर सिर्जना हुने उहाँको भनाइ छ । सूचना प्रविधिका क्षेत्रमा करीब छ प्रतिशत महिला सहभागी रहेको क्यान महासङ्घले जनाएको छ । 

मन्त्री विष्टले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सन्दर्भमा यसअघि मन्त्रालयका सहसचिव एवं विभिन्न महाशाखाका प्रमुखसँग छलफल गरिसक्नुभएको छ । यस्तै सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसँग आन्तरिक बजारमा रोजगारीको अवसर, सम्भावना र चुनौतीका विषयमा छुट्टाछुट्टै छलफल गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय योजना आयोगका पदाधिकारी, पूर्वपदाधिकारी, विभिन्न मन्त्रालयका सचिव, पूर्वसचिवलगायत सरोकारवाला पक्षसँग रोजगारीको सम्भावनाका बारेमा विस्तृतमा छलफल गर्ने तयारी गरिएको छ ।”

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया