आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस : पोखरामा गिद्ध गणना गरिँदै

 भदौ १८, २०७९ शनिबार ८:५२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिन्छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाउन थालिएको दिवस सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।

गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । हानिकारक किटाणु तथा सडेको मासु पचाउनसक्ने भएकाले गिद्धलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ । नेपाल पक्षी संरक्षण सङ्घको अगुवाइमा १४औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा विभिन्न कार्यक्रम भैरहेका छन् । यसवर्ष नेपालमा सप्ताहव्यापी रूपमा कार्यक्रम गरिएको छ । दिवसका अवसरमा आज पोखरमा गिद्ध गणना समेत गरिँदैछ ।

लोप हुन लागेको गिद्धको संरक्षण र यसको महत्वबारे जनचेतना जगाउन कार्यक्रम केन्द्रीत रहेका पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिनुभयो । चराविज्ञ डगौराका अनुसार सन् १९९० को दशकदेखि दक्षिण एसियामा गिद्धको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको छ । यो २३ वर्षको अवधिमा भारतमा डङ्गर गिद्धको सङ्ख्या ९१ प्रतिशतले घटेको देखिएको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा गरिएको सर्भेक्षणमा सन् २०१० मा ३५, सन् २०१३ मा ८२, सन् २०२१ मा २८ र सन् २०२२ मा १६ गुँड फेला परेको छ । कञ्चनपुरमा गरिएको सर्भेक्षणमा सन् २०१० मा एक, सन् २०२१ मा ५६ र सन् २०२२ मा एक सय १० वटा गुँड फेला परेको छ ।

“कैलाली र कञ्चनपुरमा डङ्गर गिद्ध, सानो खैरो गिद्ध, गोब्रे गिद्ध र सुन गिद्धले प्रजनन गरेको तथ्याङ्क छ”, चरा विज्ञ डगौराले भन्नुभयो, “डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध आईयूसीएनको अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने गोब्रे गिद्ध दुर्लभ अवस्थामा रहेको छ ।”

कैलाली र कञ्चनपुरमा सात प्रजातिका गिद्ध पाइने गरेका छन् । राज गिद्ध र खैरो गिद्ध नेपालमा हिउँदका बेला पाहुनाका रूपमा जाडो छल्न आइपुग्ने गर्दछन् । हिमाली गिद्ध नेपालको रैथाने भए पनि तराईमा जाडो महिनामा मात्रै आउने गरेको पाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया