दशैँ आउन लागेपछि ताप्लेजुङकाे अनुगमन समिति सक्रिय !

 भदौ १९, २०७९ आइतबार १९:१७:१७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – वर्षको १२ महिनामा ११ महिना सुस्त रहेको ताप्लेजुङको अनुगमन समितिले दशैँ आउने बेला भएपछि जिल्लाका विभिन्न ठाउँमा रहेका बजार अनुगमन थालेको छ । मैसमीरूपमा अनुगमन थालेको अनुगमन टोलीले जिल्लाको दाेस्राे ठूलाे बजार दोभानमा दर्ता नभइ सञ्चालनमा रहेका व्यवसायीलाई दर्ता भए/नभएको, मूल्यसूची र बोर्ड अनिवार्य राख्न भदौ महिनाभरिको समय दिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईको नेतृत्वमा मेरिङदेन गाउँपालिकाको दोभान बजारमा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरणमा ध्यान नदिएका, धेरैजसाे पसलमा मूल्यसूची नभएको र पसल सङ्केत गर्ने बोर्डसमेत नदेखिएको भन्दै यो त्रुटि सच्याउन भदौ महिनाभरिको समय दिइएको हो।

व्यवसाय दर्ता तथा नवीकरण गरेर वैधानिक प्रक्रियामा समाहित भएपछि मात्रै व्यवसाय सञ्चालनका लागि योग्य हुने सुझाव दिएका छौँ, घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साइँले भन्नुभयाे । सार्वजनिक स्थलमा मूल्यसूची राख्नुपर्नेसहितका सबै सुझाव पालना नभए अर्को पटकको अनुगमनदेखि 'एक्सन' मा जाने अनुगमन समितिको तयारी छ ।

अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ भट्टराईले सचेत गरिएका विषय पालना नभए वैधानिक बाटो अवलम्बन गरिने बताउनुभयाे । उपभोक्ता हित प्रतिकूल हुने कुनै पनि काम गर्न नहुनेतर्फ संवेदनशील बन्न उहाँले व्यवसायीको ध्यानाकर्षण गराउनुभयाे । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ शाखा दोभानका अध्यक्ष हरि काफ्लेले व्यवसाय दर्ता व्यवसायीको पहिलो सर्त भएकोले दर्ता, नवीकरण, मूल्यसूचीलगायतका विषयमा सङ्घका सदस्यलाई प्रोत्साहित गर्ने बताउनुभयाे । 

संयुक्त अनुगमन समितिले कम्तीमा महिनामा एक पटक बजार क्षेत्रको नियमित अनुगमन गर्ने कार्यसूची बनाएको जनाएको छ । घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख घोर्साइँले उपभोक्ताको हितलाई ध्यानमा राखेर योजनागतरूपमै अनुगमनको अभियान सञ्चालन गर्ने कार्ययोजना बनेको जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया