यान्त्रिक पुल भएको ठाउँमा लामाे पुल बन्ने

 असोज १४, २०७५ आइतबार १०:१३:३४ | रासस
unn.prixa.net

पर्वत – अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया सुरु भएको हो । अहिले त्यहाँ यान्त्रिक पुल सञ्चालनमा रहरेकाे छ । याे पुलबाट दैनिक पाँच सयभन्दा बढीले ओहोरदोहोर गर्ने गरेका छन् । 

बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङ्गको अदुवाबारी जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको प्राविधिक टोलीले शुक्रबार गरेको नाप जाँचका क्रममा पुल निर्माण प्राविधिक दृष्टिले सम्पन्न गर्न सकिने इञ्जिनियर हुमानाथ मिश्रले जानकारी दिनुभयो ।

विसं २०५९ देखि पुल निर्माणका लागि विभिन्न चरणमा छलफल, बहस र नाप जाँच भए पनि लट्ठा तान्ने प्रविधि नेपालमा नभएका कारण काम अघि बढ्न सकेको थिएन । कुश्मा र बागलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि पुल निर्माणका लागि केन्द्रीय तहमा पहल भएको थियो । पुल निर्माणका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद पदम गिरीको पनि विशेष पहलमा प्राविधिक टोलीले पुल निर्माणको सम्भाव्यता अध्ययन गरेको हो । 

चाइनिज प्रविधिको लट्ठा तान्ने मेसिन भित्रिएपछि शहीद पार्कदेखि आदुवाबारीसम्म पुल निर्माण गर्न सकिने इञ्जिनियर मिश्रले जानकारी दिनुभयो ।

विस्तृत सर्वेक्षणबाट पुलको लम्बाइ करीब ५६७ मिटर हुनेछ भने उचाइ १६० मिटर हुने भएको छ । यो अहिलेसम्म पर्वतका निर्माण भएका चारवटै पुलभन्दा पनि अग्लो हुने भएको छ । कालीगण्डकी नदीमाथि निर्माण हुने उक्त पुललाई बागलुङ बजारको व्यावसायिक भविष्यसँग जोडेर हेर्ने गरिएको छ ।

पुल निर्माण भएपछि कुश्मा नगरपालिका–१ पाङ्ग, २ खुर्कोट, जलजला गाउँपालिका–९ बनौ र ८ नाङलिवाङका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । यि क्षेत्रका बासिन्दाको आर्थिक तथा व्यावसायिक कारोबार बढी मात्रामा बागलुङ बजारमै हुँदै आएको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया