दशैँ दशा बन्यो, दीपेन्द्रको घरमा अहिलेसम्म दशैँ आएको छैन

 असोज १५, २०७९ शनिबार २०:१८:१३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – सबैको घरमा दशैँ घर भित्र पस्यो । भोलि दशैँको सप्तमी अर्थात फूलपाती । तर, फुङलिङ नगरपालिका ३ मेदिवुङमा मोतिलाल भट्टराईको जग्गामा पाल टाँगेर बसेका दीपेन्द्र कालिकोटे (विश्वकर्मा विक) को घरमा भने अहिलेसम्म खानेकुरा केही छैन । उहाँ भन्नुहुन्छ, ‘दशैँको लागि खानेकुरा जोहो गर्न सकिएन । अहिले खान पनि चामल छैन । छोरा छोरी तथा बुढीलाई नयाँ लुगा किन्ने, दशैँमा रमाइलो गर्ने सपना सपना मै हराएर गयो ।’

आफ्नो घर अर्थात पाल देखाउँदै विक भन्नुहुन्छ, ‘घरबाट पानी बाहिर जाँदैन सबै चुहिएर घर भित्र नै पोखरी हुन्छ । पानी परेका दिन रातमा निद्रा हुँदैन रातभरी जाग्रम बस्नु पर्छ, अनि कसो गर्ने ।'

तीन जना छोराछोरीको बाबु दीपेन्द्र आखाँभरी आँसु पार्दै भन्नुहुन्छ, ‘ बाजे, बुवा हुँदै मसम्म आइपुग्दा पनि कसैको नाममा जग्गा जमिन छैन । दशैँ भनेको मेरा लागि दशा भएर आउँछ ।’

छिमेकी मदनकुमार भट्टराईको घरमा दाउरा चिर्दै गुनासो पोख्दै दीपेन्द्र भन्नुहुन्छ, ‘अब आज र हिजो दाउरा चिरेको पैसाले बेलुका चामल किनेर ल्याउने हो । अनि दशैँ मनाउने हो ।’ 

‘दैनिक मजदुरी गर्न खेताला जान्छु तर, तीन छोरी, बुढी, आफू र बुवालाई खुवाउँदा र बालबच्चा पढाउँदा ज्याला केही बच्दैन, केही गर्दा पनि जोहो हुँदैन अनि के गर्ने ?,’ विक भन्नुहुन्छ । 

‘सबैभन्दा ठूली छोरी ९ बर्षकी छे, उसले कहिले चिची ल्याउने भनेर सोधी रहन्छे,’ दीपेन्द्र भन्नुहुन्छ, ‘तर, आफू भने भोलि ल्याउने भन्दै टार्ने गरेको छु ।’ 

२० वर्षको उमेरमा विवाह गरेका ३२ वर्षीय दीपेन्द्र निराश हुँदै भन्नुहुन्छ, ‘अझै पनि केही भएको छैन विदेश जान ४ वर्षदेखि मन रहेको छ । तर, पासपोर्ट बनाउन पैसा तथा विदेश जाँदा लाग्ने खर्च कसले पत्याउँछ र ?’

दीपेन्द्र कि श्रीमती टिकामाया विकले काखमा दूध चुसाउँदै गरेको छोरीको जीउभर लुगा थिएन । ‘दशैँको रौनक गाउँमा बढ्दै गएको छ । तर, यो झुप्रामा दशैँको रमाइलो कहिल्यै आउँदैन,’ टिकामाया भन्नुहुन्छ, ‘म पनि कमजोरी छु दैनिक गाउँघरमा ज्यालामा जान पनि खासै सक्दिन श्रीमानको भरमा के मिठो मसिनो खाने दैनिक गुजारा गर्नै समस्या छ ।’

श्रीमान भन्दा १ वर्ष जेठी अर्थात ३३ वर्षीया टिकामायालाई अहिलेसम्म दशैँमा नयाँ लुगा लगाएको सम्झना छैन । उहाँ भन्नुहुन्छ, ‘बुढाबुढी दुवै जनाले दैनिक ज्यालादारी गर्दा हुन्थ्यो तर, काखमा दूधे बालक अनि म पनि कमजोर भएकाले दुवै जना काममा जान पनि समस्या छ ।’

उहाँ अगाडि भन्नुहुन्छ, ‘दशैँमा नयाँ लुगा लगाउने र मिठो मसिनो खाने मन छ तर मन भएर मात्रै पुग्दैन । नयाँ लुगा र मिठो मसिनो खानलाई पैसा चाहिन्छ र पैसा नभएपछि के नै हुन्छ त्यसैले यसपाला जे छ खाने हो ।’

दीपेन्द्र आफूले सरकारबाट केही नपाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो पहाडका गाउँमा के नै पो हुन्छ र छिमेकीहरुकोमा गयो धान रोप्ने बेलामा धान रोप्याे, धान गोड्ने बेलामा धान गोड्यो, अनि त्यही छिमेकहरुले दिएको अन्न खायो, पैसा दिए भने किनेर ल्याएर खायो ।’

नेपालमा गणतन्त्र आयो, संघीयता कायम भएकाे पनि ६ वर्ष बितिसकेको छ । गाउँमा सिंहदरबार गएको भन्दै शंखघोष गरियो । तर, गाउँमा सिंहदरबार आएको महसुस भएको छैन । सिंहमात्र बाँकी रहेको सबै तिरबाट चर्चा चलेको छ ।

सुकुम्बासीलाई जग्गा दिने र सुकुम्बासी समाधानको लागि जिल्लामा सुकुम्बासी आयोगसमेत गठन भएका छन् । तर, केही नहुने दीपेन्द्र जस्ता सुकुम्बासीहरुले अहिलेसम्म राहत पाएका छैनन् ।

फुसको छानोलाई जस्ता दिने भनेर सबैले टिन पाए तर दीपेन्द्रले भने त्यो पनि पाएनन् । जग्गा नभएको भन्दै टिन दिइएन तर, उनका छिमेकीले जग्गा नभए पनि टिन पाए । आफ्नो कसैसँग चिनजान नभएकाले टिन नदिएको दीपेन्द्रको गुनासो छ ।

दीपेन्द्रले ४ वर्ष अगाडि तत्कालीन उपमेयर बमबहादुर भट्टराईले दिएको पाल छाप्रोमा ओढाएका थिए । त्यो सबै च्यातिएर पानी घर भित्र नै आउँछ । तर, पनि स्थानीय सरकारले आफूलाई केही नदिएको दीपेन्द्रले बताउनु भयो ।

जिल्लामा रहेका सुकुम्बासीहरुको समाधानको लागि बनेको जिल्ला सुकुम्बासी आयोगका संयोजक कृष्ण बस्नेतले अब सुकुम्बासीको टुङ्गो लगाउने बताउनुभयो ।

उहाँले ६ वटा पालिकाबाट ३ सय २७ घर परिवार सुकुम्बासी तथा २ सय ५६ परिवार धनीपूर्जा विहीन तथ्यांक आएको बताउनुभयो । त्यसमा फुङलिङ नगरपालिकामा सबैभन्दा धेरै करिब एक सय २० जना रहेको समेत बस्नेतले बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर १९, २०७९

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया