खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन...
मंसिर ७, २०८१ शुक्रबार
चितवन – नारायणगढ-मुग्लिन सडकखण्डको निर्माणको काम पूरा भएकाे छ ।
सडक निर्माणको काम सकिए पनि पुल निर्माणको काम समयमा हुन नसक्दा समस्या यथावत रहेको छ । फराकिला सडकमा साँघुरा पुल रहेकाले जोखिम कायम रहेको छ ।
आयोजनाका सूचना अधिकारी शिव खनालले दिनुभएको जानकारी अनुसार कालोपत्रे गरिएको सडकमा कतै–कतै सडक लेन छुट्याउन थोरै स्थानमा कलर गर्ने काम बाहेक ९९ प्रतिशत काम सकिएको छ ।
नारायणगढ मुग्लिन सडकखण्डमा १८ वटा नयाँ पुल बन्ने भए पनि अहिले चारवटा पुल मात्र बनाउने काम भइरहेको छ ।
सडकखण्डमा पर्ने पुलहरु बिग्रँदै गएका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
पुलको चौडाई २ दशमलव ५ मिटर भएपनि भारतबाट सामान लिएर आउने ठूला ट्रक ३ दशमलव ७ मिटर चौडाइ सम्मको हुने भएकाले पुलका रेलिङ्ग भाँचिने गरेको बताउँदै इन्जिनियर खनालले सडक सहज भएपनि पुलको यात्रा जोखिम भएकाले सवारी चालक सचेत हुनुपर्ने बताउनुभयो ।
सडक फराकिलो भएका कारण चालकले सवारी तीव्र गतिमा चलाउने गरेको बताउँदै खनालले पुल पुरानै अवस्थामा रहेकाले दुर्घटना बढ्न सक्ने भएकाले आयोजनाले सचेतता अपनाउँदै आएको बताउनुभयो ।
सडकको चौडाइभन्दा पुलको चौडाई आधा भएकाले तीव्रगतिमा आएका सवारी साधानलाई पुल आएको संकेत गराउनका लागि सबै पुलका छेउमा रम्बल स्टिम राखिएको खनालले बताउनुभयो ।
पुल नजिकै राखिएको रम्बल स्टिममा सवारी गुड्दा सचेत हुने त्यसले पुल आएको संकेत गर्ने भएकोले सवारी चालक सचेत हुने उहाँले बताउनुभयो ।
सडकखण्डमा अहिले पुल रहेकै स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको हो । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जिर्ण रहेका कारण सवै पुल नयाँ बनाउन लागिएको आयोजनाले बताएको छ ।
सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीलाई नै पुल निर्माणको जिम्मा दिइएको छ । नारायणगढ मुग्लिन सडकखण्डमा ४ वटा पुल निर्माणका लागि दुइवटा कम्पनी लामा कन्स्ट्रक्सन र रौताहा निर्माणले जिम्मा पाएको छ ।
निर्माण भइरहेका चार वटा पुलमा नारायणगढबाट १२ किलोमिटर दासढुङ्गा, १६ किलोमिटर खानी पुल, २२ किलोमिटर मौरी पुल र २९ किलोमिटर जलबिरे रहेका छन् ।
सडकखण्डमा ६ मिटर मात्र चौडा रहेको पुललाई ११ मिटर चौडा बनाइने गरिने खनालले बताउनुभयो । एक्काइस महिनाभित्र निर्माण गरिसक्नुपर्ने ती पुलको निर्माणको २८ प्रतिशत काम सकिएको खनालले बताउनुभयो ।
बन्ने पुलको दुवैैपट्टि छेउमा १ दशमलब ५ मिटरका दरले फुटपाथ रहने छ । पुराना पुलहरुलाई मर्मत गरी आवत जावत गर्न मिल्ने अवस्थामा राखिने छ । बीचको भागबाट दुइवटा गाडी एक पटक आवतजावत गर्न सक्ने छन् ।
नारायणगढदेखि मुिग्लनसम्म सवारी यात्रा गर्दा साविक ७० मिनेट लाग्दै आएको यो सडक पुनः निर्माण पछि ४० मिटमा पार गर्न सकिने भएको छ ।
नारायणगढको आँपटारीदेखि मुग्लिनसम्मको दूरी ३३.२ किलोमिटर छ । विश्व बैंकको २ अर्ब ९० करोड आर्थिक सहयोगमा २०७२ वैशाखबाट यो सडक विस्तारको काम थालिएको थियो ।
एसियन हाइवे अन्तर्गतको ‘ए एचटू’ खण्ड अन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ । गुणस्तरीय सडक निर्माण गर्ने उद्देश्यले यो सडक विस्तार थालिएको थियो ।
वि.स. २०३६ सालमा नारायणगढलाई गोरखासँग जोड्न चीन सरकारको सहयोगमा यो सडक निर्माण भएको थियो । अहिले नारायणगढ आँपटारीदेखि पश्चिम १६ किलोमिटरसम्म ११ मिटर र १६ किलोमिटरदेखि मुग्लिनसम्म नौ मिटर चौडा भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।