निगमको जहाजले लुक्लामा एकै दिन तीन उडान गर्यो

 असोज २१, २०७५ आइतबार ५:५३:१८ | रासस

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो । 

निगमले शनिबार बिहानै लुक्लामा तीन उडान भरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले चीनबाट ल्याइएको वाई–१२ ई विमानबाट लुक्लामा व्यावसायिक उडान भरिएको जानकारी दिनुभयो । 

शनिबार लुक्लाका लागि चार उडान तालिका राखिए पनि मौसमको खराबीले तीन मात्र उडान गरिएको उहाँले उल्लेख गर्नुभयो । यो उडानलाई निगमको इतिहासकै ठूलो उपलब्धि मानिएको छ । यसअघि निगमको ट्वीनअटर विमानले बेलाबखत मात्र लुक्लामा उडान गर्ने गर्दथ्यो । 

पर्यटकीय मुख्ययाम शुरु भएको र लुक्लामा विदेशी पर्यटकको चाप हुने भएकाले पनि निगमले यो गन्तव्यलाई प्राथमिकता दिएको जनाएको छ । लुक्लासँगै डोल्पा, सिमिकोट, ताल्चा, जुम्ला, जोमसोमलगायत क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको प्रवक्ता सिग्देलले जानकारी दिनुभयो । 

करीब २० वटा गन्तव्यमा आन्तरिक उडान भर्दै आएको निगमसँग हाल–दुई ग्राउण्डेड० सहित चार वाई–१२, एक एमए–६०, दुई टुइनअटरलगायत नौ वटा विमान छन् । अन्तर्राष्ट्रियतर्फ हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई, हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । 

 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया