ओलीलाई लक्षित गर्दै प्रचण्डलाई माधव नेपालकाे आग्रह– आफूलाई 'सुप्रिमाे' नठान्नुस्

 पुस २७, २०७९ बुधबार १४:५८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफैँलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । 

प्रतिनिधि सभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई 'सुप्रिमो' ठान्ने गरेको उल्लेख गर्दै उहाँले त्यस्तो नहुन प्रधानमन्त्री प्रचण्डकाे ध्यानाकर्षण गराउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठिक गरे भनेर अझै पनि अहङ्कार प्रस्तुत गरिरहेको भन्दै आपत्तिसमेत जनाउनुभयो । 

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई १५ बुँदे सर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पार्नुभयो । उहाँले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढ्न पनि प्रधानमन्त्रीलाई सचेत गराउनुभयो । 

उहाँले भन्नु भयो, ‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो । तर यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ– मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहङ्कार प्रदर्शन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिको वर्तमान सरकारकाे प्रधानमन्त्री नभइ दिनुहोला है । मेरो आग्रह छ । विनम्रतालाई अवलम्बन गर्नुहोला । संविधानको मूल मर्म र भावनालाई ध्यान दिनुहोला ।’

अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धताहरू पूरा गर्ने काममा केन्द्रित हुन पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभयो । सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उहाँको भनाइ छ । अध्यक्ष नेपालले सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न आफ्नो पार्टीले घचघच्याइ रहने पनि बताउनुभयो । 

अध्यक्ष नेपालले देशलाई विदेशीहरूको क्रिडाभूमि बन्न नदिने काममा पनि वर्तमान सरकार सचेत रहनुपर्नेसमेत बताउनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया