नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि १५ दिन दिउँसोको समयमा बन्द हुने

 फागुन ६, २०७९ शनिबार ११:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि थप १५ दिन दिउँसोको समयमा बन्द हुने भएको छ । चिसेन्जी खोला र तुइनखोलामा सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो ।

सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार आजदेखि यही २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी रोकेर पहरो काट्ने काम गरिनेछ । यसअघि गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । त्यसपछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गरिएको थियो । थप गरिएको समय आज सकिएको छ । तर काम नसकिएपछि सरोकारवालासँग छलफल गरी थप १५ दिन दिउँसोको समयमा सडक बन्द गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको छ । यो डाँडोलाई काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

तीन मुख्य ठाउँ कालीखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउन समस्या भएकोले पहरो काटेर पुलका लागि फाउण्डेशन बनाउने काम भइरहेको छ । कालीखोलाको भित्ता काट्ने काम सकेर पुलको फाउण्डेशन बनाउने काम चलिरहेको छ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम सकिन लागेको छ भने नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया