सन्दुक रुइत जन्म गाउँकाे आँखा शिविरमा, ७० जनाकाे आँखाकाे ज्याेति फर्कियाे

 फागुन २१, २०७९ आइतबार १८:३५:५७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको दुर्गम बस्ती ओलाङचुङगोला र घुन्सामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको नौ दिने शिविरमा नौ सय ३५ जनाको आँखा परीक्षण गरेको गाउँपालिकाले जनाएको छ । परीक्षण गरिएकामध्ये ७० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको गाउँपालिकाका अध्यक्ष राजन लिम्बुले बताउनुभयो । पाँच वर्षका बालकदेखि ८८ वर्षका वृद्धसमेत गरी ९७ जनामा मोतियाबिन्दु भेटिएकोमा ७० जनाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

बहराइन सरकारको इसा अवार्डबाट सम्मानित वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतकाे नेतृत्वमा खटिएकाे टाेलीले दुर्गम बस्तीमा आँखाकाे शल्यक्रिया गरेकाे हाे । अत्यन्तै विकट बस्ती रहेको ओलाङचुङगोला वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइतको जन्मगाउँ समेत हो । डा. रुइतले आफ्नो जन्मभूमिमा आएर बिरामीहरूको सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

डा. रुइतसँग नेपालसहित विश्वका विभिन्न देशमा पुगेर एक लाख ८० हजार जनाभन्दा बढी आँखाका रोगीको शल्यक्रिया तथा उपचार गरेको अनुभव छ । उहाँले आँखाकाे उपचारमा पुर्‍याएकाे याेगदानबापत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी थुप्रै पुरस्कार प्राप्त गरिसक्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया