नाकापारिकाे व्यापारकाे भरमा रहेकाे एउटा गाउँ

 फागुन २४, २०७९ बुधबार १९:३२:२४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको उत्तरी क्षेत्रमा रहेको पर्यटकीय बस्ती ओलाङचुङगोला आफ्नै विशेषता र परम्परामा रमेको बस्ती हो । सदरमुकाम फुङलिङबाट गाडी र पैदल गरेर पूरै दुई दिनको यात्रामा पुगिने यो बस्ती हिउँदमा हिउँले पुरिन्छ । हिउँदमा यहाँका बासिन्दालाई घाम देख्न बिहानको १०–१२ बज्नु पर्छ । यो बस्ती तीन हजार दुई सय मिटरको उचाइमा छ । 

खेतीपाती नहुने यो बस्तीमा पुरुषहरू चौरीपालन गर्छन् भने महिलाहरू घरधन्दासँगै गलैँचा बुन्छन् । चौरीको दूधबाट बन्ने छुर्पी र चौरीको चम्मर पनि बिक्छ  । चौरीलाई भारी बोकाएर पनि आम्दानी हुने गरेको छ । तर काेराेना कहरका कारण चीनको तिप्ताला नाका बन्द हुँदा ओलाङचुङगोलावासी समस्या परेका छन् । गएको चार वर्षदेखि तिप्ताला नाका बन्द हुँदा चीनको तिब्बतमा बिक्री हुँदै आएका सामग्री अहिले त्यसै खेर जाने अवस्थामा पुगेका स्थानीय किसानहरू गुनासो गर्छन् । 

ओलाङचुङगोलामा बुनिने गलैँचा पनि चीनमै बिक्री हुने गरेको थियो । प्रतिगोटा २४ हजार रुपैयाँसम्ममा बिक्री हुने गलैँचाका लागि बजारको कुनै समस्या थिएन तर नाका बन्दा हुँदा अहिले गलैँचा बिक्री नभएर घरमै थन्किएका छन् । स्थानीयवासीले चीनमा सामग्री बेचेर खाद्यान्नलगायतका वस्तु खरिद गरेर दैनिकी चलाउने गरेकोमा अहिले भने समस्या भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । चीन नजिकमा भएकाले खाद्यान्नलगायतका धेरै वस्तु उतैबाट ल्याइन्थ्यो । तर नाका बन्द भएपछि त्यताबाट सामाग्री आयात बन्द भएको छ ।

ओलाङचुङगोलामा भोटे, शेर्पा र वालुङ जातिका ५३ परिवार बसोवास छ  । जनगणना २०६९ अनुसार यहाँको जनसङ्ख्या दुई सय ७० छ । सङ्घीय संरचनाअनुसार फक्ताङलुङ–७ मा पर्ने यहाँ दुई वटा मात्रै बस्ती छन् । दिकिछ्योलिङ गुम्बासँगै रहेको ओलाङचुङगोला र यहाँबाट एक दिनको पैदलमा रहेको अर्काे गाउँ याङमा । याङ्मामा १२ परिवारको बसोवास छ ।

यस बस्तीका हरेक परिवार घरको दोस्रो तलामा बस्छन् । पहिलो तलामा घाँस–दाउरा राख्छन्, पशुचौपाया बाँध्ने गर्छन् । व्यापारीहरूले भने पहिलो तलामा बिक्रीका लागि सामान पनि राखेका छन् । यहाँका ९५ प्रतिशत घर काठका छन् । 

मुख्य नाका तिप्ताला भञ्ज्याङ

तिप्ताला भञ्ज्याङ नेपाल र चीनको तिब्बत जोड्ने मुख्य नाका हो । पाँच हजार तीन सय मिटर उचाइमा रहेको यो भञ्ज्याङले नेपाल र चीनलाई जोडेको छ । तमोर नदीको पूर्वपट्टि रहेको बस्ती ओलाङचुङगोला हो भने यसको मुख्य नाका तिप्ताला भञ्ज्याङ हो । 

अहिले ओलोङचुङगोलादेखि चीनको सिमाना तिप्ताला भञ्ज्याङसम्म मोटरेबल बाटो निर्माण भइरहेको छ । चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न र ओलाङचुङगोला नाकालाई सडक सञ्जालले जोड्न यहाँका बासिन्दा स्वयले सडकमा लगानी जुटाएर सडक निर्माण गरेका हुन् । ओलाङचुङगोलामा जन्मेर देशको सङ्घीय राजधानी काठमाण्डौ तथा अमेरिका, बेलायतलगायतका देशमा गएर बसेकाहरूको संस्था वालुङ समाजमार्फत पनि रकम सङ्कलन भएको थियो । त्यही समय झन्डै तीन करोड रुपैयाँ सडक निर्माणमा खर्च गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । 

सदरमुकाम फुङलिङबाट विस्तार हुँदै आएको सडक जोड्न अब दुई किलोमिटरमात्र बाँकी रहेको छ । काठमाण्डौको एलाइट निर्माण कम्पनीले सडक विस्तारको काम गरिरहेको भए पनि अहिले विभिन्न कारणले राेकिएकाे छ । 

यो सडक निर्माण सम्पन्न हुँदा तमोर कोरिडोरको पनि ट्र्याक खोल्ने काम सकिनेछ । तमोर कोरिडोर निर्माण पूरा हुँदा तिप्ताला भन्ज्याङदेखि विराटनगरको रानी भन्सारसम्मको दुरी दुई सय ७० किलोमिटरमात्रै हुने उत्तर–दक्षिण लोकमार्ग आयोजना धरानका प्रमुख कुबेर नेपाली बताउनुहुन्छ । 

नेपालीका अनुसार यो सडक निर्माणको काम धमाधम भइरहेको र धनकुटाको मूलघाटदेखि पाँचथरको भालुचोकसम्म एक सय १० किलोमिटर सडक कालोपत्र गर्ने कामसमेत भइरहेको छ । यो सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनको त्रिदेशीय नाका जोड्ने यो सबैभन्दा छोटो दुरीको सडक हुन्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Jiten chemjong limbu

    March 8, 2023, 9:16 p.m.

    कञ्चनजंघा संरक्षण क्षेत्रका कारण प्रक्रिया पुरा गर्न समय लागेको होला तर संरक्षण क्षेत्रले सडक निर्माण रोकेको छैन र होइन र रोक्न मिल्दैन पनि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया