सुक्खा बन्दरगाहको गोदाममै थन्कियो चिनी

 असोज २८, २०७५ आइतबार १९:३०:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

पर्सा – साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको झण्डै १३ करोड मूल्य बराबरको दुई हजार ५ सय मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महङ्गोमा चिनी किन्न बाध्य भएका छन् । 

हिन्दूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट चिनी आयात गरेको थियो । तर ढिलो गरी आएकाले चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएका कारण अहिलेसम्म त्यो चिनी बजारमा आउन नसकेको हो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत धनबहादुर बरुवालले भन्नुभयो, ‘तर साल्टट्रेडिङ कर्पोरेशनको चिनी ढिलो गरी असोज ६ गते आएकाले त्यो चिनी अहिलेसम्म गोदममै थन्किएर रहेको छ ।’ 

विसं २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषदको निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँच पास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । 

उहाँले सुक्खा बन्दरगाहको गोदाममा राखिएको त्यो चिनी छाड्नेबारे विभागबाट कुनै पनि पत्र नआएकाले यसबारेमा अहिले केही भन्न नसकिने बताउनुभयो ।

यता साल्टट्रेडिङ कर्पोरेशनले त्यो चिनी आयात गर्न प्रतित पत्र जारी गरिसकेको थियो । चिनी आपूर्तिकर्ता गुजरातको रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भए पनि बुक गरेको रेल्वे जाम र चापका कारण १५ दिन ढिलो गरी त्यो चिनी सुक्खा बन्दरगाहमा आइपुगेकाले चिनी गोदाममै थन्किएको साल्टट्रेडिङ लिमिटेड अञ्चल कार्यालय पर्साका प्रमुख अमोद लामिछानेले भन्नुभयो । उहाँका अनुसार चिनी छुटाउने सम्बन्धमा केन्द्रीय कार्यालयसँग पत्राचार भइरहेको छ । 

विगत २२ दिनदेखि त्यो चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएकाले उपभोक्ता महङ्गोमा भारतीय चिनी खरीद गर्न बाध्य भएका हुन् । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको छ । 

सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउनेक्रम नरोकिएपछि सङ्घीय सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएका कारण असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन । सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रतिकेजी रु ७० का दरले किन्न बाध्य छन् । 

सुक्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा तस्करी गरी ल्याएको भारतीय चिनी महङ्गो दरमा खरिद गरी उपभोक्ताले दशैँ मनाउनुपर्ने भएको छ । 
––– 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया